मकवानपुरसहित देशभर आजदेखि एसईई परीक्षा सुरु, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी

मकवानपुरसहित देशभर आज (चैत १९)देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले विगत वर्षहरूझैँ यस वर्ष पनि देशभर एकै समयमा बिहान ८ बजेदेखि परीक्षा सञ्चालन गरेको हो।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार चैत २९ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षामा कुल पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका छन्। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी रहेका छन्।

यस वर्ष परीक्षामा छात्राको संख्या छात्रभन्दा बढी रहेको छ। परीक्षामा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सातजना सहभागी भएका छन्।

परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएका छन् भने माध्यमिक तह अध्यापन हुने ११ हजार ३७९ विद्यालयका विद्यार्थी सहभागी छन्। मकवानपुर जिल्लामा पनि शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन भइरहेको जनाइएको छ।

यसैबीच, जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले पनि एसईई परीक्षा दिइरहेका छन्।

परीक्षाको व्यवस्थापन र सुरक्षाका लागि प्रत्येक परीक्षा केन्द्रमा १५ जना प्रहरी खटाइएको छ। साथै, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.