चैत्र शुक्ल पूर्णिमाका अवसरमा आज रामभक्त हनुमान जन्मजयन्ती देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। बल, बुद्धि र विद्या प्रदान गर्ने तथा दुःख–संकटबाट मुक्ति दिने विश्वासका साथ भक्तजनहरूले विभिन्न मन्दिरमा पूजाआराधना गरिरहेका छन्।
राजधानीस्थित हनुमानढोका दरबार, पशुपतिनाथ मन्दिर परिसरमा रहेको हनुमान मन्दिर तथा गोकर्णेश्वर नगरपालिका को पञ्चमुखी हनुमान मन्दिरसहित देशभरका हनुमान मन्दिरहरूमा विशेष पूजा र दर्शनको घुइँचो लागेको छ।
शास्त्रीय मान्यता अनुसार हनुमान लाई वायुका पुत्र तथा भगवान् राम का परम भक्तका रूपमा मानिन्छ। रामायण लगायतका ग्रन्थमा वर्णन भएअनुसार उनले भक्तियोग र कर्मयोगमार्फत उच्च स्थान प्राप्त गरेका हुन्।
भक्तजनहरूका अनुसार आजको दिन हनुमानको पूजा, व्रत र ‘हनुमान चालिसा’ पाठ गरेमा भय, रोग, संकट तथा नकारात्मक शक्तिबाट मुक्ति पाइने विश्वास छ। यस अवसरमा पवित्र नदीमा स्नान गर्ने, व्रत बस्ने र मन्दिरमा सिन्दूर चढाउने परम्परा रहेको छ।
हनुमान लाई ‘संकटमोचक’ र ‘बजरङ्गबली’का रूपमा पनि चिनिन्छ। पञ्चमुखी, तेजस्वी र पराक्रमी स्वरूपमा स्मरण गरिने उनी अणिमा, महिमा, गरिमा, लघिमा लगायतका यौगिक शक्तिले सम्पन्न रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
आजका दिन देशका विभिन्न स्थानमा शोभायात्रा निकालिनुका साथै भक्तजनको उल्लेख्य सहभागिता देखिएको छ। मंगलवार र शनिवार विशेष रूपमा हनुमानको आराधना गर्ने परम्परा भए पनि जन्मजयन्तीका दिन विशेष महत्वका साथ मनाइने गरिन्छ।























































