मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेमा गएराति भएको आगलागीले एक कृषकको ठूलो क्षति भएको छ। स्थानीय सानुकाजी स्याङवोको काठ र जस्ताले बनेको गोठमा अचानक आगो सल्किँदा १० वटा बाख्रा जलेर मरेका छन् भने एउटा गाईको बाच्छी घाइते भएको प्रहरीले जनाएको छ।
आगलागीको सूचना पाएलगत्तै प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षक गौरिशंकर साहको नेतृत्वमा टोली खटिएको थियो। प्रहरी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।
घटनाबाट गोठ पूर्ण रूपमा नष्ट भएको छ भने करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। प्रारम्भिक अनुसन्धानले गोठ नजिक मुसा धपाउन बालिएको आगोबाटै दुर्घटना भएको संकेत गरेको छ। घटनास्थल प्रहरी चौकी रातोमाटेबाट करिब ४ किलोमिटर पूर्वमा पर्छ।
प्रतिकृया दिनुहोस्























































