हेटौंडामा युवाहरूबीच बढ्दै गएको असमानता विषयमा प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ। गैरसरकारी संस्था महासङ्घको आयोजनामा तथा अक्सफामको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा बोल्दै महासङ्घकी महासचिव देवी खड्काले धर्म, जात, वर्ग, लिङ्ग र भौगोलिक आधारमा बढ्दो विभेदले युवाहरूलाई स्वदेशमा अवसर नदेखिएको बताइन्। उनले यही कारणले धेरै युवा विदेशतर्फ आकर्षित भइरहेकोप्रति चिन्ता व्यक्त गरिन्।
उपमहासचिव किरण थापाले नागरिकको आवाज सशक्त बनाउन आवश्यक रहेको उल्लेख गर्दै देशमा भएका प्रगतिहरू पर्याप्त नभएकाले अझ संघर्ष आवश्यक रहेको धारणा राखे।
काठमाडौँ विश्वविद्यालयकी सहायक प्राध्यापक डा. रुपा मुनाकर्मीले विश्वमा धनी र गरिबबीचको खाडल बढ्दै गएको बताउँदै शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच भएका व्यक्तिहरूको प्रभुत्व कायम रहेको उल्लेख गरिन्। उनले संविधानमा समान अधिकारको व्यवस्था भए पनि व्यवहारमा अझै विभेद र हिंसा कायम रहेको स्पष्ट पारिन्।
गैरसरकारी महासङ्घ बागमती प्रदेश अध्यक्ष कमलकुमार विश्वकर्माले युवाहरूको बसाइँसराइ र विदेश पलायन रोक्न नसक्नु चुनौतीका रूपमा रहेको बताए। उनले सबैका लागि समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक तथा अपाङ्गता अधिकारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले असमानता न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा उठाइएका मुद्दाहरूलाई व्यापक रूपमा उठान गर्ने उद्देश्यले यस्तो गोष्ठी आयोजना गरिएको आयोजकले जनाएको छ।























































