पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको पावन एक महिनाको अवधिमा वैदिक सनातन धर्मअनुसार विभिन्न शक्ति पीठ तथा देवीस्थलहरूमा विशेष पूजा–आराधना गरिँदै आएको छ। सतीदेवीका अंग पतन भएका स्थानमा देवीदेवताको दिव्य वास रहेको धार्मिक विश्वासका आधारमा शक्ति उपासना गर्ने यो परम्परा आदिकालदेखि निरन्तर चल्दै आएको मानिन्छ।
यसै धार्मिक मान्यताअनुसार आजदेखि वैदिक सनातन धर्मावलम्बीहरूले घर–घरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत तथा स्वस्थानी कथा वाचन आरम्भ गर्दै देवी–देवताको आराधना प्रारम्भ गरेका छन्।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना श्रद्धा, संयम र साधनासहित स्वस्थानी व्रत र माघ स्नान गर्ने परम्परा छ। यसको प्रारम्भ पौष शुक्ल चतुर्दशीका दिन हातखुट्टाका नङ काटी स्नान गरी शुद्ध वस्त्र धारण गरेर गरिन्छ।
प्रत्येक दिन बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित भगवान् महादेवको विधिपूर्वक पूजा गरिन्छ। बेलुकाको समयमा स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ माहात्म्यमा वर्णित कुमार र अगस्त्य ऋषिबीचको संवादयुक्त स्वस्थानी व्रत कथा श्रवण–श्रावण गर्ने परम्परा रहिआएको छ। कुल परम्पराअनुसार कसैले बिहान त कसैले बेलुकी कथा वाचन गर्ने चलन छ।
एक महिनासम्म निरन्तर व्रत बसेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न प्रकारका फलफूल, धूप, दीप, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र तथा भेटी अर्पण गरी व्रत सफल होस् भनी भगवती स्वस्थानीलाई अर्घ्य प्रदान गरिन्छ।
चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ अंश पति भए पतिलाई, पति नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने परम्परा छ। यी कोही नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा प्रवाहित गर्ने विधि पनि शास्त्रसम्मत मानिन्छ।
व्रत समापनको रात सय रोटी वर्तालुले आफैँ फलाहार गरी जाग्राम बस्ने चलन छ। जाग्रामका समयमा देवीको माहात्म्य श्रवण–श्रावण गरेमा वर्तालुको मनोकामना पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। ‘स्वस्थानी’ शब्दको शाब्दिक अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ।
आफ्नो वासस्थानकी देवीको उपासना गर्नु नै स्वस्थानी पूजा हो भन्ने मान्यता छ। उत्तरायणपछि आउने समय ध्यान, योग र आत्मसाधनाका लागि अत्यन्त अनुकूल मानिने भएकाले ‘स्वस्थान’ अर्थात् आफ्नै आत्मासँग सम्बन्ध स्थापित गर्ने अभ्यासलाई स्वस्थानी भनिएको विश्वास पनि पाइन्छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय विशेष फलदायी मानिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्णवर्णा, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा विराजमान, चार भुजायुक्त देवीका रूपमा वर्णन गरिएको छ।
उनका अनुसार देवी स्वस्थानीका चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा धारण गरेकी उल्लेख गरिएको छ। यस्ती देवीको श्रद्धापूर्वक व्रत गरेमा विछोड भएका दाम्पत्य जीवन पुनः एकत्रित हुने, रोग–व्याध निवारण हुने तथा इच्छित जीवनसाथी प्राप्त हुने विश्वाससमेत धार्मिक ग्रन्थहरूमा पाइन्छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान् विष्णुको निर्देशनअनुसार भगवान् शिवलाई पति प्राप्त गर्न स्वस्थानी व्रत गरेको कथा स्वस्थानी ग्रन्थमा उल्लेख छ। साथै व्रतकै प्रभावले विछोडमा परेका नाग–नागिनीको पुनर्मिलन भएको कथा पनि वर्णित छ।
साँखुको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले सप्तऋषिबाट उपदिष्ट व्रत विधिअनुसार स्वस्थानी व्रत गरेपछि पुत्रवियोगबाट मुक्ति पाएको र उनका छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) का राजा बनेको कथा पनि स्वस्थानीमा वर्णन गरिएको छ।
यसै अवसरमा आजदेखि एक महिनासम्म काठमाडौं उपत्यकाको उत्तर–पूर्वी क्षेत्रमा अवस्थित साँखुस्थित शालीनदीमा माघ स्नानसहित माधवनारायणको पवित्र मेला सुरु हुँदैछ।
माघ महिनामा शालीनदीमा स्नान गरी माधवनारायण र श्रीस्वस्थानीको दर्शन गरेमा पाप नाश भई पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजनको भीड लाग्ने गरेको इतिहासकार श्रेष्ठले बताए।
यस वर्षको माधवनारायण मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको शालीनदी व्यवस्थापन समितिले जनाएको छ। शालीनदीमा स्नान तथा माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू आउने परम्परा रहिआएको छ।






















































