हेटौँडा । मकवानपुरको हेटौडामा बिहानै पसलमा चोरी भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बैँकरोडस्थित क्यालिबर स्टोरमा आईतबार बिहान ४ बजेर २० मिनेटको समयमा चोरी भएको हो ।
मास्क लगाएर आएका चोरले सटरको ताला फुटाएर स्टोरमा प्रवेश गरेको र नगदसँगै केही जोर जुत्ता समेत चोरेर लगेको क्यालिबर स्टोरका निराजन नेपालले जानकारी दिए ।
पसलमा रहेको नगद रु १ लाख ५० हजारका साथै केही जोर जुत्ता समेत चोरिएको नेपालले बताए । उनका अनुसार यस घटनाका विषयमा प्रहरीलाई जानकारी गराउनुका साथै उजुरी समेत दर्ता गरिएको छ ।
पसलमा भएको सिसिटिभीमा रेकर्ड भएको दृश्य अनुसार चोरी गर्न आएका व्यक्तिले सुरुमा पसलको बिलिङ काउन्टरको घर्राबाट नगद निकालेको र त्यसपश्चात केही जोर जुत्ता झोलामा हालेको देखिन्छ ।
सेतो हाफ कट्टु र सेतो ज्याकेटमा देखिएका व्यक्तिले मुख र टाउकोमा सेतो कपडा बेरेको देखिन्छ ।
मेनरोड नजिकै बैँक रोडमा भएको चोरीले हेटौँडामा सुरक्षा जोखिम बढाएको छ ।






















































