मकवानपुरमा १३ वटा ओभरलोड टिपरलाई प्रहरीले नियन्त्रणमा लिइएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ हेटौडा उपमहानगरपालिका–१९ नेवारपानी क्षेत्रमा सवारी साधन चेकजाँच गर्ने क्रममा मनहरीबाट हेटौडा बजारतर्फ आउँदै गरेका १३ वटा टिपरहरुलाई रोकी जाँच गरेको थियो।
चेकजाँचको क्रममा ती टिपरहरूमा ढुवानी भइरहेको चुनढुंगा तोकिएको मापदण्डभन्दा बढी (ओभरलोड) रहेको तथा आवश्यक कागजात (विल) समेत साथमा नरहेको पाइएको प्रहरीले जनाएको छ। नियम विपरीत ढुवानी गरिएको पाइएपछि ती सबै टिपरहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको छ।
हाल उक्त सवारी साधन तथा सम्बन्धित व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। साथै, ओभरलोड तथा गैरकानुनी ढुवानी नियन्त्रणका लागि नियमित रूपमा निगरानी र कारबाहीलाई तीव्र बनाइएको पनि प्रहरीले जनाएको छ।






















































