काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपत्यकाभित्रका नदीकिनारमा बसोबास गर्दै आएका सुकुमबासीहरूको पहिचान गरी व्यवस्थित रूपमा स्थानान्तरण गर्ने आवश्यकता औंल्याएका छन्।
आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत उनले वर्षौँदेखि जटिल बनेको सुकुमबासी समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्। विशेषगरी बागमती र अन्य नदी किनारमा बसोबास गर्ने नागरिकहरू हरेक वर्ष बाढीको जोखिममा पर्ने भएकाले उनीहरूको सुरक्षित व्यवस्थापन अपरिहार्य भएको उनको भनाइ छ।
मेयर शाहले थापाथली, गैरीगाउँ तथा मनोहरा क्षेत्रका बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय तरिकाले स्थानान्तरण गर्ने योजना रहेको उल्लेख गरेका छन्। उनका अनुसार यस्ता बस्तीहरूले ढल निकास प्रणालीमा अवरोध पुर्याउँदा सहरको सरसफाइ र नदीको अवस्था बिग्रिएको छ।
उनले सुकुमबासी र अतिक्रमणकारीबीच स्पष्ट रूपमा फरक छुट्याएर वास्तविक पीडितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। साथै, दीर्घकालीन रूपमा सुकुमबासी व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण आवश्यक रहेको उनको भनाइ छ।
यसअघि पनि महानगरले यस्ता बस्ती व्यवस्थापन गर्ने प्रयास गर्दा स्थानीयको विरोधका कारण चुनौती सामना गर्नुपरेको थियो।






















































