पोखरामा जारी छैटौँ टाइगर कप भलिबल च्याम्पियनसिपमा नेपाल आर्मीले संघर्षपूर्ण जित हात पारेको छ। पुरुषतर्फ मंगलबार भएको अन्तिम खेलमा आर्मीले पर्वत जिल्ला भलिबल संघलाई पाँच सेटसम्म चलेको कडा प्रतिस्पर्धामा ३–२ ले पराजित गरेको हो।
आर्मीले पहिलो सेट २५–२३ ले जित्दै खेलमा राम्रो सुरुआत गर्यो। तर दोस्रो सेटमा पर्वतले आक्रामक खेल प्रस्तुत गर्दै २५–१५ को सहज जित निकाल्यो। तेस्रो सेटमा आर्मीले पुनः लय समात्दै २५–२२ को जित दर्ता गर्यो भने चौथो सेट पर्वतले २५–१३ ले आफ्नो पक्षमा पार्दै खेललाई निर्णायक सेटसम्म पुर्यायो।
निर्णायक पाँचौँ सेटमा दुबै टोलीबीच कडा प्रतिस्पर्धा देखियो। अन्ततः आर्मीले २०–१८ को रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो।
यस जितसँगै आर्मीले चार खेलबाट पाँच अंक जोडेको छ। पर्वत र गण्डकीले समान चार खेलबाट नौ–नौ अंक बनाएका छन्। नेपाल पुलिस क्लबको सात अंक छ भने एपीएफले छ अंक जोडेको छ। माल्दिभ्स भने अंकविहीन रहेको छ।
पुरुषतर्फकै अर्को खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई सोझो सेटमा पराजित गर्यो। पुलिसले २५–२२, २८–२६ र २५–१५ को सेटमा जित निकाल्दै मजबुत प्रदर्शन गर्यो।
महिलातर्फ भने थाइल्याण्ड क्विन्स टिप–टप न्यु डायमण्ड युथ स्पोट्र्स क्लबसँग ३–० को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। यससँगै नेपाल पुलिस क्लब महिलातर्फ फाइनलमा प्रवेश गरेको छ।
न्यु डायमण्डले चार खेलबाट १२ अंक जोड्दा, सात अंकसहित पुलिसले शीर्ष दुईमा स्थान सुरक्षित गरेको हो। थाइल्याण्ड क्विन्सले चार खेलबाट छ अंक जोडेर यात्रा टुंग्याएको छ।
टाइगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ पाँच टोली सहभागी छन्। समूह चरणका अन्तिम खेलहरू नजिकिँदै जाँदा उपाधि होड अझै रोचक बन्दै गएको छ।















































