हेटौँडा उपमहानगरपालिकाले कृषि क्षेत्रलाई आधुनिक र उत्पादनमुखी बनाउँदै युवा पुस्तालाई कृषिमा आकर्षित गर्न विभिन्न कार्यक्रम अघि बढाएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत स्वरोजगार, सिँचाइ विस्तार, माटो सुधार र स्वदेशी बीउ उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको हो।
उपप्रमुख राजेश बानियाँका अनुसार युवा स्वरोजगार कार्यक्रममार्फत नयाँ पुस्तालाई व्यावसायिक कृषिसँग जोड्ने लक्ष्य लिइएको छ। माटोको गुणस्तर सुधार गर्न नमूना परीक्षणका आधारमा ५० प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको छ भने प्रदेश सरकारको सहयोगमा ४० मेट्रिक टन चुन निःशुल्क उपलब्ध गराइएको छ।
फलफूल खेती विस्तारका लागि कृषक समूह र सहकारीमार्फत लिची, केरा, ड्रागन फल तथा एभोकाडो खेती पाँच स्थानमा सञ्चालन भइरहेको छ। साथै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार र पुराना सिँचाइ संरचनाको मर्मतसम्भारका कार्यक्रमलाई पनि बजेटमा समेटिएको छ।
आयातित तथा हाइब्रिड बीउको निर्भरता घटाउने उद्देश्यले स्वदेशी खुला सेचित जातका मकै र धानको बीउ उत्पादनलाई प्रोत्साहन गरिएको छ। यसअन्तर्गत रामपुर कम्पोजिट मकै, मकवानपुर–१ धान र राम धानको बीउ उत्पादनका कार्यक्रम सञ्चालन गरिनेछ।
यस्तै, सङ्घीय सरकारबाट हस्तान्तरित धान पकेट कार्यक्रमअन्तर्गत हेटौँडा–१७ मा श्री साना किसान कृषि सहकारी संस्थामार्फत ३०० कट्ठा क्षेत्रफलमा धान खेती कार्यक्रम सञ्चालन भइरहेको उपमहानगरपालिकाले जनाएको छ।
























