बाल सुधार गृहका किशोरलाई आत्मविश्वास र कानुनी सचेतनाबारे अभिमुखीकरण

हेटौँडा। मकवानपुरको हेटौँडा–११ थानाभर्याङस्थित बाल सुधार गृहमा रहेका किशोरहरूका लागि आत्मविश्वास, कानुनी सचेतना तथा सकारात्मक जीवनशैलीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

इन्सेक बागमती प्रदेश, प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल बागमती प्रदेशको आयोजनामा तथा सुनौलो शिक्षा नेपालको समन्वयमा बिहीबार कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम गैरसरकारी महासंघ बागमती प्रदेशका अध्यक्ष तथा सञ्जालका सल्लाहकार कमलकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

प्रमुख जिल्ला अधिकारी अधिकारीले बाल सुधार गृहमा रहँदा पनि सकारात्मक सोच र आत्मविश्वास कायम राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले आपसी सहकार्य, सद्भाव र विगतका गल्तीबाट सिक्दै नयाँ जीवनको सुरुवात गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अनुशासन, आपसी सम्मान र कानुनप्रतिको सचेतनाले उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विगतका कमजोरीलाई सुधार गर्दै सही मार्गमा अघि बढ्न सहभागीहरूलाई प्रेरित गर्नुभयो।

कार्यक्रममा कमलकुमार विश्वकर्माले जिम्मेवारीबोध, सही निर्णय क्षमता र भविष्य निर्माणका विषयमा प्रेरणामूलक धारणा राख्नुभयो। त्यसैगरी प्रहरी निरीक्षक कृष्ण दासले साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा डिजिटल सुरक्षाबारे जानकारी गराउनुभयो।

सुनौलो शिक्षा नेपालका अध्यक्ष आशिष दुलालले किशोरावस्थामा हुने शारीरिक, मानसिक तथा सामाजिक परिवर्तनबारे सहजीकरण गर्दै “हामी फेरि पलाउन सक्छौं” भन्ने सन्देशमार्फत सहभागीहरूलाई सकारात्मक सोच, आत्मविश्वास र जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुभयो। उहाँले यस्ता सचेतनामूलक कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बाल सुधार गृहका कार्यालय प्रमुख वासुदेव यादव, नायब सुब्बा प्रदीप गौतम, हिमराइट्स मकवानपुरकी संयोजक कुमारी वाइबा, मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष शारदा चौलागाईं, वार्डेन श्रवणकुमार पुडासैनी, सञ्जाल सदस्य विनोद ढकाललगायतको उपस्थिति रहेको थियो।

हाल बाल सुधार गृहमा ८४ जना किशोर रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.