आजदेखि मकवानपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री बन्द

निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ अनुसार गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिसका आधारमा यस्तो व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

आयोगले निर्वाचन आचारसंहिता पूर्णरूपमा कार्यान्वयन गराउन सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई सक्रिय रहन आग्रह गरेको छ। जिल्ला आचारसंहिता अनुगमन समितिलाई तोकिएका संयन्त्र परिचालन गरी निषेधित गतिविधि हुन नदिन तथा उल्लंघन भए तत्काल कारबाही गर्न निर्देशन दिइएको छ।

सवारी सञ्चालनमा कडाइ

सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाइनेछ। तर एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार, सुरक्षा निकाय, विद्युत् तथा खानेपानी मर्मतका सवारी भने निर्वाध सञ्चालन गर्न पाइनेछ।

यस्तै, दूरसञ्चार मर्मत, कूटनीतिक नियोग तथा निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारीसाधन सञ्चालनमा छुट दिइनेछ। अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने नियमित रूपमा सञ्चालन हुने आयोगले जनाएको छ। टिकट भएका यात्रुलाई विमानस्थल आवतजावतमा सहजीकरण गरिनेछ।

मतदानको दिन सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा विशेष एकाइ स्थापना गरिनेछ, जहाँ आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी खटाइनेछन्।

मतदान गर्न आवश्यक कागजात

निर्वाचन आयोगका अनुसार मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्नेछन्। साथै, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात भए पनि मतदान गर्न पाइनेछ।

आयोगले मतदाता नामावलीमा नाम भएका सबै मतदाताले निर्धक्क मतदान गर्न पाउने जानकारी सुरक्षाकर्मी तथा सम्बन्धित निकायमार्फत सम्प्रेषण गर्ने निर्णयसमेत गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.