नेपाल टेलिकम को डाटा सेवा प्रयोग गर्ने ग्राहकका लागि अब महत्वपूर्ण सुधार लागू गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ग्राहकको गुनासो सम्बोधन गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल ब्यालेन्स काटिने पुरानो व्यवस्था हटाएको जानकारी दिएको छ।
नयाँ व्यवस्थाअनुसार अब ग्राहकको डाटा प्याकेज ९० प्रतिशत प्रयोग भइसकेपछि नै एसएमएस तथा मोबाइल एपमार्फत सूचना पठाइनेछ। त्यसपछि ग्राहकले आफ्नो आवश्यकता अनुसार प्याकेज पुनः नवीकरण गर्न सक्नेछन्।
यसअघि डाटा सकिएलगत्तै मुख्य ब्यालेन्सबाट रकम काटिने हुँदा प्रयोगकर्ताबाट व्यापक असन्तुष्टि आएको थियो। सोही आधारमा मन्त्रालयले यो प्रणाली परिवर्तन गर्ने निर्णय गरेको हो।
अब ग्राहकले चाहेमा मात्र ‘Pay-as-you-go’ प्रणाली प्रयोग गर्न सक्नेछन्। यो सेवा प्रयोग गर्न इच्छुक ग्राहकले *444# डायल गरी सजिलै सेवा इनेबल वा डिसेबल गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।























































