हावाहुरीको कहरले मकवानपुरका बस्ती उजाडिँयो, २६ परिवार छानाविहीन

मकवानपुरमा बैशाख २१ गते आएको हावाहुरी र अविरल वर्षाले गाउँबस्तीमा गहिरो पीडा थपेको छ। विशेषगरी कैलाश, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकाका २६ परिवार अहिले छानाविहीन भई कठिन परिस्थितिमा दिन काट्न बाध्य छन्।

आँधीले घरका जस्तापाता र खरका छाना उडाइदिँदा धेरैको बासस्थान नै असुरक्षित बनेको छ। पानी परिरहँदा जोखिम अझ बढेको छ भने कतिपय परिवार अझै पनि भत्किएको घर, गोठ वा छिमेकीको आश्रयमा गुजारा गरिरहेका छन्।

कैलाश गाउँपालिका–९ घैराङटारमा मात्र ९ घरमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। त्यहाँ करिब ११ लाख ६० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ। यस्तै मकवानपुरगढी–२ लेनडाँडामा एक घरमा क्षति हुँदा १ लाख रुपैयाँ बराबरको हानि भएको छ।

राक्सिराङ गाउँपालिकाका विभिन्न टोलमा ९ परिवारका घरको छाना उडेको छ। भीमफेदी र इन्द्रसरोवर क्षेत्रमा समेत गोठ, विद्यालय र कुखुरा फार्ममा क्षति पुग्दा थप ६ लाख ४५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको विवरण सार्वजनिक भएको छ।

हावाहुरीको प्रभाव मकवानपुरभर देखिएको छ। केही स्थानमा राहतस्वरूप जस्तापाता वितरण सुरु भए पनि धेरै परिवार अझै तत्काल सहयोगको प्रतीक्षामा छन्। लगातारको वर्षाले समस्या झन् गहिरिँदै गएको स्थानीयको गुनासो छ।

प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ भने स्थानीय तहले राहत र पुनःस्थापनाको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएको छ। तर, छानाविहीन बनेका परिवारका लागि अहिलेको सबैभन्दा ठूलो आवश्यकता तत्काल आश्रय र सहयोग नै बनेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.