हेटौंडा । हेटौंडा क्याम्पसले आगामी शैक्षिक सत्रदेखि समयसापेक्ष र व्यावसायिक शिक्षालाई केन्द्रमा राख्दै विभिन्न नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। बागमती विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालन गरिने कार्यक्रमहरूबारे क्याम्पसले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
“नवीन शैक्षिक कार्यक्रम र करियरका अवसरहरू” विषयक कार्यपत्र सार्वजनिक गर्दै क्याम्पसले सूचना प्रविधि, व्यवस्थापन, कानून, होटल व्यवस्थापन तथा शिक्षा संकायअन्तर्गतका आधुनिक कार्यक्रम सञ्चालनको योजना अघि सारेको जनाएको छ।
क्याम्पस प्रमुख डाक्टर देवचन्द्र मानन्धरका अनुसार स्थानीय स्तरमै गुणस्तरीय र रोजगारमुखी शिक्षा उपलब्ध गराउने उद्देश्यले नयाँ कार्यक्रम ल्याउन लागिएको हो। उनका अनुसार सूचना प्रविधि स्नातक (BIT) कार्यक्रममार्फत विद्यार्थीले सफ्टवेयर विकास, नेटवर्किङ, डाटाबेस व्यवस्थापन तथा साइबर सुरक्षाको ज्ञान हासिल गर्नेछन्। यसले आईटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै व्यवसाय प्रशासन स्नातक (BBA) कार्यक्रमले नेतृत्व विकास, व्यवस्थापन क्षमता र व्यावसायिक रणनीतिमा केन्द्रित अध्ययन गराउने क्याम्पसले जनाएको छ। बैंकिङ, वित्त, मार्केटिङ र मानव संसाधन क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुने विश्वास गरिएको छ।
कानून शिक्षाअन्तर्गत पाँच वर्षे BALLB र तीन वर्षे LLB कार्यक्रम पनि सञ्चालनको तयारीमा रहेको क्याम्पसले जनाएको छ। न्यायिक प्रणाली, संविधान, फौजदारी तथा दिवानी कानूनबारे गहन अध्ययन गराइने यी कार्यक्रमबाट दक्ष कानूनी जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको छ।
पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै होटल व्यवस्थापन स्नातक (BHM) कार्यक्रम पनि सञ्चालन गरिने भएको छ। यसमा होटल सञ्चालन, पाहुना सत्कार, खाना तथा पेय पदार्थ सेवा लगायतका व्यावहारिक विषय समेटिनेछन्।
यस्तै शिक्षा संकायअन्तर्गतको B.Ed. कार्यक्रमलाई प्रविधिमैत्री र व्यावसायिक बनाइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले बताए। दोहोरो मुख्य विषय, सूचना प्रविधि तथा व्यावसायिक विषय समावेश गरिएकाले विद्यार्थी आधुनिक शिक्षण प्रणालीसँग परिचित हुने उनको भनाइ छ।
क्याम्पसले नयाँ कार्यक्रम सञ्चालनपछि हेटौंडालाई प्रदेशकै महत्वपूर्ण शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। स्थानीयमै उच्च शिक्षा उपलब्ध हुँदा विद्यार्थी बाहिरिने क्रम घट्ने, खर्च बचत हुने तथा स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन हुने विश्वास क्याम्पसको छ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले पूर्वाधार विकास, दक्ष जनशक्ति व्यवस्थापन र बजारको मागअनुसारको पाठ्यक्रम निर्माणमा विशेष ध्यान दिन सुझाव दिएका थिए।
अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख डाक्टर लिलानाथ ढुंगेल, डाक्टर विजय नेपाल, प्राध्यापक अर्पण पराजुलीलगायतको उपस्थिति रहेको थियो।















