हेटौँडा । प्राकृतिक जलाधार मत्स्य विकास तथा संरक्षण केन्द्र, हेटौँडाले अतिक्रमण गरी बनाइएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।
केन्द्रले शुक्रबार सूचना प्रकाशित गर्दै हेटौँडा उपमहानगरपालिका–१६ स्थित आफ्नो स्वामित्वको सार्वजनिक जग्गामा अनुमति बिना टहरा, घर तथा विभिन्न संरचना निर्माण गरी बसोबास गरिएको भन्दै ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।
सूचनामा उल्लेख भएअनुसार सरकारी तथा सार्वजनिक प्रयोजनका लागि रहेको जग्गामा केही व्यक्तिहरुले अनधिकृत रूपमा घरटहरा निर्माण गरी बसोबास गर्दै आएका छन् । यसरी अतिक्रमण गरिएका संरचनाका कारण कार्यालयको संरक्षण तथा विकाससम्बन्धी काम प्रभावित भएको जनाइएको छ ।
कार्यालयले सूचनामार्फत तोकिएको समयभित्र जग्गा खाली नगरे प्रचलित कानून अनुसार हटाइने चेतावनी दिएको छ । साथै संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट नै असुल गरिने उल्लेख गरिएको छ ।
सूचनामा अतिक्रमण गरी बसोबास गर्ने केही व्यक्तिहरुको नामसमेत सार्वजनिक गरिएको छ ।















