राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत बाग्मती प्रदेशबाट सबैभन्दा धेरै व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन भएको छ। कार्यालयका अनुसार बाग्मतीबाट हालसम्म दुई लाख ८२ हजार प्रतिष्ठानको आर्थिक विवरण अभिलेखीकरण गरिएको छ।
देशभर करिब ११ लाख ७० हजार व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन भइसकेको अवस्थामा कर्णाली प्रदेशबाट भने सबैभन्दा कम ५२ हजार प्रतिष्ठान समेटिएका छन्। आर्थिक गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकाल का अनुसार जेठ २२ गतेसम्मको लक्ष्यअनुसार गणनाको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ।
कार्यालयले आर्थिक कारोबारमा संलग्न औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै व्यापार–व्यवसायलाई गणनामा सहभागी हुन आग्रह गरेको छ। गणनामार्फत व्यावसायिक कृषि, खानी, उत्पादनमूलक उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा वित्तीय संस्था, सहकारीलगायत विभिन्न आर्थिक गतिविधिसँग सम्बन्धित प्रतिष्ठानको तथ्याङ्क सङ्कलन भइरहेको छ।
सङ्कलित तथ्याङ्कले सरकारलाई आर्थिक तथा वाणिज्य नीति निर्माण, लगानी प्रवर्द्धन तथा विकास योजना तयार गर्न तथ्यमा आधारित आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। राष्ट्रिय अर्थतन्त्रको वास्तविक अवस्था चित्रण गर्दै नीति निर्माणलाई प्रभावकारी बनाउने उद्देश्यले आर्थिक गणना सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
यसअघि विसं २०७५ मा पहिलोपटक सम्पन्न आर्थिक गणनामा नौ लाख २३ हजार ३५६ प्रतिष्ठान समावेश भएका थिए। यसपटक भने करिब १४ लाख प्रतिष्ठान सहभागी हुने अनुमान गरिएको छ। गत वैशाख २ गतेदेखि सुरु भएको गणना आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमलाई प्रभावकारी बनाउन सबै प्रदेशमा प्रमुख सचिवको अध्यक्षतामा प्रदेश आर्थिक गणना समन्वय समिति तथा जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला समन्वय समिति गठन गरिएको छ। तथ्याङ्कको विश्वसनीयता बढाउन स्थानीय तह र वडास्तरमा समेत समन्वय संयन्त्र परिचालन गरिएको कार्यालयले जनाएको छ।
देशभरका उद्योग, व्यापार–व्यवसाय तथा सेवा क्षेत्रलाई समेट्ने लक्ष्यसहित सञ्चालन भइरहेको गणनाका लागि तीन हजार ९०६ गणक र ५२६ सुपरीवेक्षक परिचालन गरिएका छन्। कार्यालयले यस गणनाबाट प्राप्त हुने तथ्याङ्कले नेपालको आर्थिक संरचना, रोजगारीको अवस्था तथा निजी क्षेत्रको योगदानबारे थप स्पष्ट चित्र प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ।

















