‘मेरोकित्ता’ एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब मोबाइलबाटै

नापी विभागले जग्गासम्बन्धी सेवा प्रवाहलाई डिजिटल माध्यमबाट सहज बनाउन ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले एपको औपचारिक शुभारम्भ गरेकी हुन्।

विभागका अनुसार एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध उक्त एपमार्फत सेवाग्राहीले घरमै बसेर विभिन्न नापीसम्बन्धी सेवा लिन सक्नेछन्। एप डाउनलोड गरी प्रयोगकर्ताले नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

अनलाइन आवेदन दर्तापछि प्रणालीबाट ओटीपी प्राप्त हुने र त्यसकै आधारमा सेवाग्राहीले आफ्नो आवेदनको अवस्था नियमित रूपमा अनुगमन गर्न सक्नेछन्। साथै, ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत राजस्व भुक्तानी गर्ने सुविधा पनि एपमा समावेश गरिएको छ।

फिल्ड रेखांकन सेवाका लागि आवश्यक शुल्कसमेत अनलाइनबाटै तिर्न सकिने विभागले जनाएको छ। एपमार्फत सम्बन्धित नापी कार्यालयका प्रमुख तथा सूचना अधिकारीको सम्पर्क विवरणसमेत प्राप्त गर्न सकिने सुविधा उपलब्ध गराइएको छ।

नापी विभागले ‘मेरोकित्ता’ सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि सञ्चालनमा रहेको जनाएको छ। मन्त्री रावलले सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताउँदै यस एपले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्।

उनले डिजिटल सुशासनलाई सुदृढ बनाउन यस्ता प्रविधिमैत्री सेवाको दायरा आगामी दिनमा अझ विस्तार गरिने प्रतिबद्धता समेत जनाइन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.