हेटौँडा । मकवानपुर प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१५ फायरलाइनबाट दुई जना र हेटौँडा–३ लेवटबाट दुई जना पक्राउ परेका हुन् ।
फायरलाइन क्षेत्रमा लागूऔषध बिक्री भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय ३९ वर्षीय आइतमान थिङ र ३८ वर्षीय सूर्य बललाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ४८० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी, हेटौँडा–३ लेवटस्थित पूर्व–पश्चिम सडकखण्डमा सवारीसाधन तथा मानिस जाँच गर्ने क्रममा बा.७५ प ८२१७ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मोटरसाइकल चालक हेटौँडा–३ लेवटका २२ वर्षीय रवि स्याङ्तान र राक्सिराङ गाउँपालिका–१ का २४ वर्षीय सुजन स्याङ्तान रहेका छन् ।
शंका लागेर खानतलासी गर्दा उनीहरूको साथबाट ९ सय मिलिग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
पक्राउ परेका चारै जनामाथि लागूऔषधसम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
























