हेटौँडा । जागिर लगाइदिने भन्दै रकम असुली गरेको आरोपमा मकवानपुर प्रहरीले हेटौँडाका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–६ का २४ वर्षीय रबिन गौतम रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गौतमले हेटौँडा औद्योगिक क्षेत्रस्थित पार्लेजी बिस्कुट फ्याक्ट्रीमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले रकम उठाएका थिए ।
उनीविरुद्ध परेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । अनुसन्धानका क्रममा गौतमले दुई सयभन्दा बढी व्यक्तिलाई जागिरको प्रलोभन देखाएर रकम असुली गरेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गौतमविरुद्ध ठगीसम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
























