हेटौंडा । मकवानपुरका गायक तथा नायक बिरु घलानको नयाँ गीत ‘तामाङको छोरो’ सार्वजनिक भएको छ। गीत सोमबार अपराह्न ४ बजे ‘साम्तेन मोक्तान अफिसियल’ युट्युब च्यानलमार्फत भिडियोसहित सार्वजनिक गरिएको हो।
चर्चित गायिका सुमिना लो सँगको युगल स्वरमा प्रस्तुत गरिएको यो गीतमा सानुबाबु घिसिङले एरेन्ज गरेका छन्। गीतको शब्द र संगीत साम्तेन मोक्तानको रहेको छ भने रेकर्डिङ फ्याफुल्ला स्टुडियोमा गरिएको हो।
सार्वजनिक भएको केही घण्टामै गीतले दर्शकको ध्यान खिच्न सफल भएको छ। समाचार तयार पार्दासम्म २८ हजार ४ सय ९८ भन्दा बढी दर्शकले युट्युबमा हेरेका छन्। सशक्त शब्द, आकर्षक धुन र प्रभावशाली गायनशैलीले गीतलाई थप प्रभावशाली बनाएको छ।
गायक घलानले गायिका सुमिनासँगको सहकार्यलाई सकारात्मक अनुभव भन्दै गीतले दर्शक स्रोताबाट राम्रो माया पाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। साथै, उनले गीत तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै सहकर्मीहरूको नाम स्मरण गर्दै आभार प्रकट गरेका छन्।



































