नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ मा हुने निर्वाचनमा चुनाव नलड्ने घोषणा गरेकी छन् ।
आइतबार नेतृ भुसालले आफु तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेदवार भएको बताउदै आफुले पटक पटक मन्त्री बनेर समेत अवसर पाएको भन्दै आफु यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन्
उनले अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने आफ्नो मत रहेको बताएकी छन् ।
उनले भनेकी छन्:
फागुन २१ मा हुने निर्बाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिन । प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद !
तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेदवार हुँ । त्यसमाथि पनि काठमाडौं उपत्यका जस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलाम चीउरा चपाउनु जस्तै हो । आगामी निर्वाचनमा उठनेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन ।
यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु । म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु । अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।
यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन म सक्रिय भूमिका निर्वाह गर्नेछु । साथै, अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ । त्यसैले अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ ।



































