मनहरीः मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–२ मा रहेको सीता माध्यमिक विद्यालय अहिले उत्साह र स्मृतिले भरिएको छ ।
करिब पाँच दशकअघि केही सपना बोकेर सुरु भएको यो विद्यालयले आफ्नो ५० औँ जन्मजयन्ती मनाउन लागेको खबरले शिक्षक, विद्यार्थी, अभिभावक र पूर्वविद्यार्थीहरूलाई फेरि एकपटक एउटै भावनात्मक डोरीले बाँधिदिएको छ ।
पौष २१ देखि २३ गतेसम्म मनाइने स्वर्ण जयन्तीका लागि विद्यालय परिसर यतिबेला तयारीमा जुटेको छ। कक्षाकोठा, सभाहल र खेलमैदानमा चहलपहल बढेको छ । कसैको आँखामा विगतका सम्झना छन्, कसैको मनमा वर्तमान सुधार्ने चाहना र कसैको सपनामा भविष्यको सीता मावि अझ सशक्त र उदाहरणीय विद्यालयको रूपमा उभिएको देखिन्छ ।
स्वर्ण जयन्तीको तयारीकै क्रममा विद्यालयको सभाहलमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ती
सबै भावना एकै ठाउँमा पोखिए । कार्यक्रममा सहभागी पूर्वविद्यार्थीहरूले आफ्ना बाल्यकालका दिन सम्झिए, शिक्षकहरूले संघर्षका कथा सुनाए र कर्मचारीहरूले विद्यालयप्रतिको अपनत्व व्यक्त गरे । सबैको साझा सुझाव एउटै थियो—स्वर्ण जयन्ती केवल औपचारिक कार्यक्रम नबनोस्, यो विद्यालयको विगत, वर्तमान र भविष्यलाई जोड्ने अवसर बनोस् ।
अन्तरक्रियामा सहभागीहरूले विद्यालयको दीर्घकालीन विकासका लागि स्पष्ट योजना आवश्यक रहेको धारणा राखे । ‘पचास वर्षको इतिहास आफैँमा गर्वको कुरा हो, तर अब आगामी पचास वर्षका लागि पनि स्पष्ट दिशा चाहिन्छ,’ एक पूर्वविद्यार्थीले भावुक हुँदै भनेका थिए।
विद्यालयका प्रधानाध्यापक विशाल घलानका अनुसार स्वर्ण महोत्सवका अवसरमा हाजिरी जवाफ प्रतियोगिता, नृत्य तथा विभिन्न सिर्जनात्मक कार्यक्रम आयोजना गरिनेछ । यी कार्यक्रममार्फत विद्यार्थीको प्रतिभा उजागर गर्ने र विद्यालयप्रति आत्मीयता बढाउने लक्ष्य राखिएको छ ।स्वर्ण जयन्तीको उत्साह अझ बढाउने अर्को विशेष कार्यक्रम भनेराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हो, जुन पौष २५ देखि २७ गतेसम्म मनहरीमै आयोजना हुँदैछ । यसले विद्यार्थी मात्र होइन, अभिभावक र समग्र समुदायमा पनि खेलकुद र शिक्षाप्रति नयाँ ऊर्जा थप्ने विश्वास विद्यालयले लिएको छ ।प्रधानाध्यापक घलान विद्यालय– को विगत सम्झँदै भन्छन्, ‘एक समय हाम्रो विद्यालय शैक्षिक नतिजामा पालिकामै उत्कृष्ट मानिन्थ्यो । तर पछिल्ला केही वर्षमा विभिन्न कारणले त्यो स्तर कायम राख्न चुनौती आयो ।’ उनका अनुसार स्वर्ण महोत्सव केवल उत्सव होइन, आत्मसमीक्षा र पुनःउत्थानको अवसर पनि हो । ‘यसले शिक्षक, विद्यार्थी र अभिभावक सबैको मनोबल बढाउनेछ र सीता माविको पहिचान फेरि उचाइमा पु¥याउने विश्वास छ,’ उनले थपे ।
विद्यालयले महोत्सवलाई सफल बनाउन समुदायसँग सक्दो सहयोग र सहभागिताको अपेक्षा गरेको छ । अझै महत्त्वपूर्ण कुरा के छ भने, स्वर्ण महोत्सवबाट संकलन भएको खर्च कटाएर बाँकी रकम आर्थिक अवस्था कमजोर र अशक्त विद्यार्थीहरूको शिक्षामा सहयोग पुग्ने गरी अक्षय कोषमा राखिने निर्णय गरिएको छ । यो निर्णयले सीता मावि केवल शिक्षण संस्था मात्र होइन, सामाजिक जिम्मेवारी बोकेको विद्यालयको रूपमा पनि उभिएको सन्देश दिएको छ ।
आधा शताब्दीको यात्रामा अनेक उतार–चढाव भोगेको सीता माध्यमिक विद्यालय अब स्वर्ण जयन्तीमार्फत नयाँ संकल्पसहित अगाडि बढ्न खोज्दैछ। विगतका स्मृति, वर्तमानका चुनौती र भविष्यका सपना बोकेर सीता मावि फेरि एकपटक समुदायलाई एउटै ठाउँमा जुटाउने तयारीमा छ। यही उत्सवले विद्यालयको इतिहासमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ ।



































