नेतृत्वप्रति असन्तुष्टि चुलियो, राप्रपा मकवानपुरका शीर्ष नेताहरू पार्टी बाहिरिए

प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मकवानपुरको राजनीतिमा हलचल बढ्न थालेको छ। यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरमा लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आएका नेताहरूले एकैसाथ पार्टीबाट अलग हुने निर्णय गरेका छन्।

एक दशकभन्दा बढी समय जिल्ला तहको नेतृत्वमा सक्रिय रहँदै आएका राप्रपाका जिल्ला कोषाध्यक्ष गोपीप्रसाद न्यौपाने, जिल्ला सल्लाहकार महेन्द्र ईटेनी तथा कृष्णहरि पौडेलले पार्टी परित्याग गरेका हुन्। जिल्ला निर्वाचन समिति संयोजकसमेत रहेका ईटेनीले सामाजिक सञ्जालमार्फत आफूहरूसहित केही जिल्ला नेतृत्वले पार्टीसँग सम्बन्ध तोडेको जानकारी सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विज्ञप्तिमा पार्टी नेतृत्वमाथि फटाहा प्रवृत्ति, छलछाम र गैरजिम्मेवारीपूर्ण व्यवहार गरेको आरोप लगाइएको छ। यिनै कारणले पार्टीप्रति असन्तुष्टि चुलिएको र अन्ततः पार्टी छोड्नुपरेको उल्लेख गरिएको छ। उनीहरूले पार्टीको सदस्यता जिल्ला कार्यवाहक अध्यक्ष सागर थापालाई बुझाइसकेको र अब आफूहरू पार्टीको साधारण सदस्यसमेत नरहेको स्पष्ट पारेका छन्।

विज्ञप्तिमार्फत उनीहरूले लामो समयसम्म सँगै काम गरेका गाउँ तथा जिल्ला तहका कार्यकर्ताप्रति आभार पनि व्यक्त गरेका छन्।

यसैबीच, बिहीबार मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका राप्रपाका नेता दीपकबहादुर सिंहको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएको थियो। महिलाप्रति अपमानजनक भनिएको उनको अभिव्यक्ति समाचार तथा सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।

तर सोही दिन राप्रपा मकवानपुरले भने उक्त विषयलाई अतिरञ्जित गरिएको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ। कार्यवाहक सभापति सागर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा महिलाप्रति अपमानजनक शब्द प्रयोग नगरेको र गलत हल्ला फैलाउने प्रयास भएको उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.