निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र बनाएको छ। आयोगका अनुसार हालसम्म ६० वटा निर्वाचन क्षेत्रका लागि पुग्ने गरी ७२ लाख ६० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्नेमा सो संख्याको मतपत्र छपाइ कार्य पूरा भइसकेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो। छापिएका मतपत्रमध्ये ५ हजार ८ सय २५ बाकसमा प्याकिङ गरिसकिएको छ।
डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रूकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा र सुनसरी गरी २५ जिल्लामा मतपत्र छपाइ तथा प्याकिङ कार्य सकिएको आयोगले जनाएको छ।
यसैगरी समानुपातिक निर्वाचन प्रणालीका लागि १० लाख ९८ हजार २ सय मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको छ। गत पुस २६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ सुरु गरिएको थियो।
निर्वाचन सामग्री व्यवस्थापनतर्फ पनि आयोगले तयारी पूरा गरेको जनाएको छ। निर्वाचनका लागि ९ प्रकारका सामग्री केन्द्रबाटै पठाइने र ३७ प्रकारका सामग्री जिल्ला तहमा व्यवस्थापन गरिनेछ।
केन्द्रबाट पठाइने सामग्रीमा सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, मसी, स्वस्तिक छाप तथा मतपेटिका स्टिकर रहेका छन्। जिल्लामा व्यवस्थापन हुने सामग्रीमा सिलिङ बक्स, विभिन्न फारम, स्टेशनरी सामग्री, परिचयपत्र, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेपलगायतका सामग्री समावेश छन्।
निर्वाचनलाई निष्पक्ष, सुरक्षित र व्यवस्थित बनाउन सबै तयारी समयमै सम्पन्न गरिने आयोगले जनाएको छ।


































