बकैया–१ मा विजय गौतमको जोड: लालपुर्जा समस्या समाधानका लागि सिंहदरबारसम्म आवाज उठाउँछु

बकैया — मकवानपुरको पूर्वी भेगमा लामो समयदेखि जरा गाडेर बसेको लालपुर्जा समस्या समाधानका लागि कानुनी र नीतिगत लडाइँ लड्ने प्रतिबद्धता नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले दोहोर्‍याएका छन्।

मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर–१, महादेवफेदीमा आयोजित अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै गौतमले अव्यवस्थित बसोबास र जग्गा स्वामित्वको समस्या व्यक्तिगत नभई समग्र क्षेत्रकै साझा पीडा भएको बताए।

“यो दुःख तपाईंको मात्र होइन, हाम्रो सबैको साझा दुःख हो,” उनले भने, “पूर्वी मकवानपुरका अधिकांश घरधुरी लालपुर्जा नहुँदा असुरक्षित जीवन बिताइरहेका छन्। यसको दीर्घकालीन समाधान नीतिगत र कानुनी हस्तक्षेपबिनाको सम्भव छैन।”

कार्यक्रमकै अवसरमा २०४६ सालदेखि नेकपा एमालेमा सक्रिय राजनीतिमा रहेका कान्छालाल वाइबाले एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन्। वाइबाको पार्टी प्रवेशलाई स्थानीयस्तरमा राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

कानुनका विद्यार्थी तथा पेशाले वकिलसमेत रहेका गौतमले आफूले यो मुद्दा सिंहदरबारसम्म पुर्‍याएर आवश्यक कानुनी सुधारका लागि पहल गर्ने स्पष्ट पारे। किसान परिवारमा जन्मिएको र यही भूगोलमा हुर्किएको व्यक्तिका रूपमा जनताको पीडा बुझ्ने उनले बताए।

कार्यक्रममा बोल्दै गौतमले मकवानपुरको पूर्वी क्षेत्रलाई नेपाली कम्युनिष्ट आन्दोलनको ‘लाल किला’ को संज्ञा दिँदै बकैया, बागमती र हेटौंडाबीचको एकताले निर्वाचन जित सुनिश्चित हुने दाबी गरे। उनले आगामी फागुन २१ गते ‘तारा’ चिन्हमा मतदान गर्न आग्रह गर्दै कार्यकर्तालाई घर–घरमा पुगेर विश्वासका साथ मत माग्न आह्वान गरे।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताहरूले मन्तव्य राख्दै उम्मेदवार गौतमको पक्षमा एकताबद्ध भएर अभियानमा जुट्न कार्यकर्तालाई आग्रह गरेका थिए।

कार्यक्रमको अध्यक्षता नेकपाका वडा कमिटी अध्यक्ष अञ्जन थिङले गरेका थिए भने स्वागत मन्तव्य वडा नम्बर–१ का वडा अध्यक्ष आशिष तितुङले राखेका थिए।

अन्त्यमा उम्मेदवार गौतमले उपस्थित कार्यकर्ता र स्थानीयप्रति आभार व्यक्त गर्दै इमान, निष्ठा र प्रतिबद्धताका साथ चुनावी अभियान अघि बढाउने प्रतिबद्धता जनाए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.