मकवानपुर — आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा जिल्लामा निजी प्रयोजनका लागि राखिएका हतियार बुझाउने क्रम सुरु भएको छ। जिल्ला प्रशासन कार्यालयको सार्वजनिक सूचनाका आधारमा हालसम्म १५ जनाले हतियार बुझाइसकेका छन्।
जिल्लामा हतियार राख्न अनुमति प्राप्त कुल ६० व्यक्तिमा बाँकी हतियार बुझाउने प्रक्रिया अझै जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए। हतियार बुझाउँदा प्राप्त निस्सा आगामी चैत २० गतेपछि फिर्ता गरिने उनले बताए।
उनीसँगै निर्वाचनको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। मकवानपुरमा एक हजार ९२३ निर्वाचन प्रहरी परिचालन गरिने योजना छ र उनीहरुलाई तालिम दिइरहेको छ।
जिल्लामा १६७ मतदानस्थलमध्ये १९ स्थानलाई अतिसंवेदनशील सूचीमा राखिएको छ। बाँकी ६० मतदानस्थललाई संवेदनशील र ८८ मतदानस्थललाई सामान्य सूचीमा वर्गीकृत गरिएको छ। अतिसंवेदनशील मतदानस्थलमा बकैयाँ गाउँपालिकाका पाँच, राक्सिराङ्ग गाउँपालिकाका छ, बागमती गाउँपालिकाका पाँच, र भीमफेदी, मनहरी र कैलाश गाउँपालिकाका एक–एक मतदानस्थल समावेश छन्।
मतदाता संख्या बढेसँगै यसपटक मकवानपुरमा सात मतदान केन्द्र थप गरी कुल ३७४ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र छन् भने क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र तोकिएका छन्।
जिल्लामा हाल कुल ३,१५,३३४ मतदाता छन्, जसमा १,६१,९५३ पुरुष, १,५३,३७६ महिला र अन्य पाँच मतदाता समावेश छन्।
























































