मकवानपुर। मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा आफ्नो पक्षमा जनसमर्थन बढ्दै गएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दाबी गरेको छ। पार्टीका अनुसार निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी ९एमाले० परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूको संख्या बढिरहेको छ।
नेकपाले बागमती गाउँपालिका–५ बगेरीको माझी बस्तीका केही स्थानीयले एमाले र कांग्रेस परित्याग गरी पार्टी प्रवेश गरेको जनाएको छ। शुक्रबार आयोजित चुनावी सभामा प्रतिनिधिसभा सदस्य उम्मेदवार विजय गौतम र केन्द्रीय सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ले नवप्रवेशीलाई स्वागत गरेको पार्टीको भनाइ छ।
यसैगरी बागमती गाउँपालिका–६ कायरमा भेटघाट तथा चुनावी सभा सम्पन्न भएको नेकपाले जनाएको छ। पार्टीका अनुसार वडा नम्बर–८ शान्तीपुरमा घरदैलो तथा मोटरसाइकल र्याली र वडा नम्बर–७ पथिभरामा सभा आयोजना गरिएको थियो।
नेकपाले फापरबारी बजार, शान्तीपुर, झुर्झुरे, बगेरी, बाख्रे, लामीटार र रातोमाटे लगायत स्थानमा भेटघाट तथा चुनावी कार्यक्रम गरेको जनाएको छ। उम्मेदवार गौतमसहितको टोलीले फापरबारी बजारमा मतदातासँग घरदैलो कार्यक्रम गरेको बताइएको छ।
यता उम्मेदवार गौतमले यसअघि सार्वजनिक प्रतिबद्धतापत्र कार्यक्रममा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका थिए।केही दिनअघि प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा गौतमले आफूले २६ देखि २७ सय मत अन्तरले चुनाव जित्ने दाबी गरेका थिए।


































