हेटौँडा। विगतका निर्वाचनमा ठूला मञ्च, तडकभडक र शीर्ष नेतासहितका आमसभा चुनावी प्रचारका मुख्य आकर्षण बन्थे। तर यसपटक मकवानपुरमा चुनावी दृश्य फरक देखिएको छ। उम्मेदवारहरू भव्य आमसभाभन्दा मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष संवाद गर्न व्यस्त छन्।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ र २ का उम्मेदवारहरू यतिबेला टोल–टोल पुगेर व्यक्तिगत भेटघाट र साना समूहमा छलफल गरिरहेका छन्। लामो भाषणभन्दा मतदाताका अपेक्षा, गुनासा र सुझाव सुन्ने शैली प्रभावकारी ठहरिँदै गएको उनीहरूको भनाइ छ।
उम्मेदवारहरूका अनुसार प्रत्यक्ष भेटघाटले मतदातासँग सम्बन्ध मजबुत बनाउने, भ्रम हटाउने र आफ्ना एजेन्डा स्पष्ट पार्ने अवसर दिने भएकाले घरदैलो अभियानलाई प्राथमिकता दिइएको हो। कतिपयले मोटरसाइकल र्याली, साना समूह भेला र टोलस्तरीय अन्तरक्रियालाई पनि प्राथमिकतामा राखेका छन्।
यद्यपि केही दलले सीमित आमसभा गर्ने तयारी गरिरहेका छन्, तर समग्रमा यसपटकको प्रचार शैली शान्त, सघन र प्रत्यक्ष सम्पर्क केन्द्रित देखिएको छ।
निर्वाचन क्षेत्र नं. १ मा २३ र क्षेत्र नं. २ मा २१ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। मतदातासँग नजिकिँदै विश्वास जित्ने रणनीति नै यसपटकको चुनावी माहोलको मुख्य विशेषता बनेको छ।


































