सञ्चार माध्यमलाई जिम्मेवार र तथ्यपरक समाचार सम्प्रेषण गर्न पत्रकार महासंघ बागमती प्रदेश समितिको आग्रह

हेटौंडा ।  नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सञ्चार क्षेत्रलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेको छ।
समितिका अध्यक्ष कृष्ण सारु मगरद्वारा जारी प्रेस विज्ञप्तिमा निर्वाचन लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने महत्वपूर्ण कडी भएको उल्लेख गर्दै यसलाई मर्यादित र विश्वसनीय ढंगले सम्पन्न गराउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहने जनाइएको छ।
विज्ञप्तिमा आमसञ्चारकर्मीलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा नलागी तटस्थ, सन्तुलित र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ। सूचनाको प्रवाह गर्दा त्यसको संवेदनशीलतालाई मनन गर्नुपर्नेमा पनि जोड दिइएको छ।
महासंघले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न, भ्रामक सूचना तथा ‘मिस–इन्फर्मेसन’, ‘डिस–इन्फर्मेसन’ र हेट स्पीचजस्ता सामग्रीप्रति सचेत रहन अनुरोध गरेको छ। साथै समाचार संकलनका क्रममा अल्पसंख्यक, महिला, दलित तथा सिमान्तकृत समुदायका आवाजलाई पनि समेट्नुपर्नेमा जोड दिइएको छ।
कार्यक्षेत्रमा खटिँदा व्यक्तिगत सुरक्षा र स्वास्थ्यप्रति सजग रहन सञ्चारकर्मीहरूलाई विशेष आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ।
निर्वाचनलाई लोकतान्त्रिक उत्सवका रूपमा सफल पार्न सञ्चार क्षेत्रले व्यावसायिक धर्म र मर्यादा उच्च राख्दै वस्तुनिष्ठ सूचना प्रवाह गर्नुपर्नेमा महासंघले पुनः स्मरण गराएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.