भूमि, कृषि र पूर्वाधारमा केन्द्रित बतौलाको चुनावी योजना

हेटौंडा — आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार महेश कुमार बतौला ले मकवानपुर क्षेत्र नम्बर–२ का मतदातामाझ दीर्घकालीन विकासको स्पष्ट खाका प्रस्तुत गरेका छन्। उनले संसदीय भूमिकालाई नीतिगत हस्तक्षेप, सामाजिक न्याय र आर्थिक समृद्धिसँग जोड्दै अघि बढाउने अठोट व्यक्त गरेका हुन्।

बतौलाले विशेषगरी मध्यवर्ती क्षेत्रका समस्या समाधानलाई प्राथमिकतामा राखेका छन्। भूमि समस्या समाधानका लागि कानुनी सुनिश्चितता, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा क्षतिपूर्ति व्यवस्थापन र सीमाना हेरफेरका विषयमा पहल गर्ने योजना उनले सार्वजनिक गरे।

पूर्वाधार विकासतर्फ खानेपानी, सिँचाइ, कृषि तथा सञ्चार संरचना विस्तारसँगै बस्ती संरक्षण तटबन्धन, सडक र पुल निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिएको छ। मनहरी–राक्सिराङ–कैलाश–थाहा जोड्ने रूपचन्द्र विष्ट मार्ग निर्माणलाई विशेष प्राथमिकतामा राखिएको छ। स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच विस्तार गर्ने योजना पनि उनको एजेन्डामा समेटिएको छ।

कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने लक्ष्यसहित दुग्ध तथा मासुजन्य उत्पादनको बजार विस्तार, ‘खोरेतमुक्त मकवानपुर’ अभियान सञ्चालन तथा वन्यजन्तुबाट हुने कृषिक्षतिको कानुनी व्यवस्थापन गर्ने प्रतिबद्धता उनले जनाएका छन्। सहकारी र वन स्रोतको सदुपयोगमार्फत रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरणमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

उत्तरी मकवानपुर जिल्ला लाई पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना अन्तर्गत राक्सिराङ र कैलाश गाउँपालिकामा विशेष कार्यक्रम सञ्चालन गरिनेछ। साथै थाहा, इन्द्रसरोवर र भीमफेदीलाई समेटेर पर्यटन सर्किट निर्माणमा पहल गरिने बताइएको छ।

शिक्षा र युवालाई केन्द्रमा राख्दै ‘एक पालिका एक आवासीय विद्यालय’ अवधारणा, “पढ्दै, कमाउँदै” कार्यक्रम कार्यान्वयन तथा मदन भण्डारी क्षेत्रीय रंगशाला निर्माणको पहल गर्ने योजना अघि सारिएको छ। युवा उद्यम प्रवर्द्धन र चेपाङ समुदाय लक्षित कार्यक्रम पनि प्राथमिकतामा परेका छन्।

साथै महिला, दलित, सिमान्तकृत समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि कानुनी संयन्त्र सुदृढीकरण र निर्वाचन क्षेत्र विकास कार्यक्रम लागू गर्न पहल गरिने उनले बताएका छन्।

स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै उद्योग, लगानी र आर्थिक गतिविधि विस्तारमार्फत समृद्ध मकवानपुर निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै बतौलाले आफ्नो चुनाव चिन्ह ‘सूर्य’ मा मत दिन मतदातालाई आह्वान गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.