अबको केही साताभित्र ‘एल निन्यो’ नामक विशिष्ट मौसमी गतिविधि सक्रिय हुने र त्यसले विश्वका धेरै भागमा विषम मौसम निम्त्याउन सक्ने विश्व मौसम सङ्गठनले चेतावनी दिएको छ। यस वर्षको एल निन्यो शक्तिशाली हुन सक्ने अनुमान गर्दै केही मौसम निकायहरूले यसलाई ‘सुपर एल निन्यो’ समेत भनेका छन्।
प्रशान्त महासागरको मध्य भागमा सतही पानीको तापक्रम बढ्दा एल निन्यो अवस्था सिर्जना हुने गर्छ, जसको प्रत्यक्ष असर दक्षिण एसियाली मनसुनमा समेत पर्ने गर्छ।
नेपालमा मनसुन भित्रिने समयमा एल निन्यो सक्रिय भएमा वर्षा कमजोर हुन सक्ने प्रक्षेपण गरिएको छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक डा. दीपक अर्यालका अनुसार प्रारम्भिक मनसुनमा वर्षा कम हुन सक्ने भए पनि पछि कतैकतै भारी वर्षा पनि हुन सक्छ।
जल तथा मौसम विज्ञान विभागले गरेको आकलनअनुसार यस वर्ष समग्र मनसुन केही कमजोर रहने सम्भावना देखिएको छ। विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार देशभर सरदरभन्दा कम वर्षा हुन सक्ने र अधिकतम तथा न्यूनतम तापक्रम दुवै बढ्ने प्रक्षेपण गरिएको छ।
मौसमविद्हरूका अनुसार कमजोर मनसुन भए पनि बाढी–पहिरोजस्ता विपदको जोखिम भने पूर्ण रूपमा घट्ने अवस्था हुँदैन, किनभने छोटो समयमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहन्छ।
मौसमविद् कमल राम जोशीका अनुसार एल निन्योको अवस्थामा नेपालमा विगतमा पनि असमान वर्षा देखिएको छ, जसले कहिले सुक्खा त कहिले आकस्मिक भारी वर्षा निम्त्याउने गरेको छ।
कृषि क्षेत्र पनि यसबाट प्रभावित हुने देखिएको छ। विशेषगरी धान उत्पादनमा कमी आउन सक्ने चिन्ता बढेको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सुक्खा तथा जलवायु अनुकूल धानका प्रजाति प्रयोग गर्न किसानलाई सुझाव दिएको छ।
सामान्यतया जुन १३ आसपास नेपालमा मनसुन प्रवेश गर्ने भए पनि यस वर्ष ढिलाइ हुन सक्ने अनुमान गरिएको छ। भारतको केरलामा मनसुन प्रवेश भएपछि केही हप्तामा नेपालमा यसको प्रभाव देखिने गर्छ।
विज्ञहरूले मौसम पूर्वानुमान निश्चित नभएकाले सबै सम्भावित अवस्थाका लागि तयारी आवश्यक रहेको बताएका छन्।
















