गुगलको नयाँ फिचर : प्रकाशकले आफ्ना सामग्री एआई खोजमा देखाउने–नदेखाउने निर्णय गर्न सक्ने

Google ले वेबसाइट मालिक, सञ्चालक तथा प्रकाशकहरूका लागि सर्च कन्सोलमा नयाँ नियन्त्रण सुविधा सार्वजनिक गरेको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित खोज सेवाको विस्तारसँगै सामग्री प्रयोगबारे थप पारदर्शिता र नियन्त्रण प्रदान गर्न कम्पनीले यो फिचर ल्याएको जनाएको छ।

नयाँ सुविधाअनुसार वेबसाइट सञ्चालकहरूले सर्च कन्सोलमार्फत आफ्ना सामग्री AI OverviewsAI Mode जस्ता एआई आधारित खोज सुविधामा देखाउने वा नदेखाउने निर्णय आफैं गर्न सक्नेछन्। कुनै वेबसाइटले एआई खोजबाट बाहिरिने विकल्प रोजेमा त्यसको सामग्री एआई सर्च नतिजामा समावेश गरिने छैन।

गुगलका अनुसार एआई खोजबाट बाहिरिएका वेबसाइटहरूको सामग्री एआईले जवाफ तयार पार्न प्रयोग गर्ने छैन। साथै, ती वेबसाइटहरूले एआई फिचरमार्फत प्राप्त हुने ट्राफिक र इम्प्रेसन पनि पाउने छैनन्। यद्यपि, यसले परम्परागत गुगल सर्चमा वेबसाइटको देखिने अवस्था, ट्राफिक वा र्‍याङ्किङमा कुनै असर नपर्ने कम्पनीले स्पष्ट पारेको छ।

यो सुविधा बेलायतको Competition and Markets Authority (सीएमए) ले प्रकाशकहरूको सामग्री एआईमा कसरी प्रयोग हुन्छ भन्ने विषयमा थप नियन्त्रण र पारदर्शिता सुनिश्चित गर्न दिएको निर्देशनपछि ल्याइएको हो।

पछिल्लो समय गुगलले सर्च नतिजाको शीर्ष भागमा एआईद्वारा तयार पारिएको सारांश देखाउन थालेपछि प्रयोगकर्ताहरू मुख्य वेबसाइटमा कम पुग्ने गरेको र त्यसले समाचार संस्था तथा प्रकाशकहरूको ट्राफिक र विज्ञापन आम्दानीमा असर परेको भन्दै आलोचना हुँदै आएको थियो।

नयाँ व्यवस्थाअनुसार प्रकाशकहरूले आफ्ना सामग्री एआई मोडेलको प्रशिक्षणका लागि प्रयोग हुनबाट पनि रोक्न सक्नेछन्। गुगलले एआई प्रयोग र सामान्य खोजलाई अलग-अलग रूपमा नियन्त्रण गर्न सकिने यो सुविधा हाल केही वेबसाइट सञ्चालकमाझ परीक्षणका रूपमा सञ्चालन गरिरहेको जनाएको छ। परीक्षण सफल भएपछि यसलाई विश्वव्यापी रूपमा विस्तार गर्ने कम्पनीको योजना रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.