हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरभित्रका विद्यार्थीलाई माध्यमिक तहको अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रमका लागि आवेदन खुला गरेको छ।
उपमहानगरपालिकाको शिक्षा महाशाखाका अनुसार नगर क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि शैक्षिक सत्र २०८३/०८४ को छात्रवृत्ति परीक्षाको आवेदन बुधबारदेखि खुला गरिएको हो।
छात्रवृत्तिका लागि २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई ग्रेड प्राप्त गरेका विद्यार्थीले जेठ २० गतेदेखि २७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
उपमहानगरपालिकाले छात्रवृत्ति छनोट परीक्षा सञ्चालन गरी योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ। यस कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई उच्च माध्यमिक तहको अध्ययनमा सहज पहुँच पुर्याउने विश्वास गरिएको छ।
उपमहानगरपालिकाले तोकिएको समयभित्र आवेदन दिन सम्बन्धित विद्यार्थी तथा अभिभावकलाई आग्रह समेत गरेको छ।
















