मकवानपुर जिल्ला — विद्यार्थी राजनीतिबाट उदाएर राष्ट्रिय राजनीतिसम्म सशक्त उपस्थिति बनाएकी महालक्ष्मी उपाध्याय डिना अहिले प्रतिनिधिसभा सदस्यका रूपमा जनताबाट अनुमोदित हुने अभियानमा छिन्। २०२१ साल असोज २० गते मकवानपुरमा जन्मिएकी डिना राजनीतिक चेतनायुक्त परिवारमा हुर्किएकी नेतृ हुन्।
उनका हजुरबुवा उदयनाथ अधिकारी प्रजातन्त्र सेनानी थिए, जसले १२ वर्ष जेल जीवन बिताएका थिए। त्यही पृष्ठभूमिले उनलाई राजनीतिप्रति आकर्षित गर्यो। २०३९ सालमा कन्या माध्यमिक विद्यालय, लैनचौरबाट एसएलसी उत्तीर्ण गरेपछि उनी औपचारिक रूपमा विद्यार्थी राजनीतिमा प्रवेश गरिन्।
नेपाल विद्यार्थी संघ बाट राजनीतिक यात्रा सुरु गरेकी डिना २०३९ मा पद्मकन्या क्याम्पस को नेविसंघ इकाइ सदस्य बनिन्। २०४२ सालको सत्याग्रहमा सहभागी हुँदा पक्राउ परेर ७ महिना केन्द्रीय महिला कारागारमा बन्दी जीवन बिताइन्। जेल जीवनका क्रममा उनले शैलजा आचार्य सँग निकटता बढाउने अवसर पाइन्। रिहापछि २०४३ मा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भइन्।
शैक्षिक रूपमा उनले पद्मकन्याबाट बी.ए. र त्रिभुवन विश्वविद्यालय बाट अर्थशास्त्रमा स्नातकोत्तर गरिन्। बेलायतको University of Reading बाट ‘ग्रामीण विस्तार र महिला’ विषयमा पोष्ट ग्राजुएट अध्ययनसमेत पूरा गरिन्।
राजनीतिक जिम्मेवारीमा अघि बढ्दै उनले २०४७ देखि २०५७ सम्म नेपाल महिला संघ मकवानपुरको संस्थापक अध्यक्षको भूमिका सम्हालिन्। नेपाली कांग्रेस को केन्द्रीय सदस्य हुँदै २०७८ सालको १४औं महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भइन्। २०६३ सालको अन्तरिम सरकारमा जलस्रोत राज्यमन्त्रीका रूपमा काम गर्दा उनले मकवानपुरका विकट क्षेत्रमा विद्युतीकरण विस्तारलाई प्राथमिकता दिइन्।
दुई पटक संविधानसभा सदस्य रहेकी डिनाले संविधान लेखन प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरिन्। विशेषगरी नेपालको संविधान २०७२ मा महिला अधिकार, पैतृक सम्पत्तिमा समान अधिकार र राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न नेतृत्वदायी योगदान दिएकी थिइन्। संविधान मस्यौदा समितिमा ‘मौलिक अधिकार र निर्देशक सिद्धान्त’ मस्यौदामा उनको संलग्नता उल्लेखनीय रह्यो।
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय उनले सामुदायिक महिला विकास केन्द्रको अध्यक्षका रूपमा ग्रामीण महिलाको सशक्तीकरणमा काम गरिन्। २०५५ सालमा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरी संस्थापक अध्यक्षको भूमिका निभाएकी थिइन्।
अब, संविधान कार्यान्वयन र जिल्लाको समग्र विकासलाई मुख्य एजेन्डा बनाउँदै डिना मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छिन्। लामो राजनीतिक अनुभव र महिला अधिकारका पक्षमा गरेको संघर्षलाई आधार बनाउँदै उनले जनमतमार्फत आफ्नो यात्रालाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएकी छन्।


































