मकवानपुरगढीमा सिताके च्याउ खेतीको विस्तार

मकवानपुरगढी गाउँपालिका–८ बुढीचौरमा सिताके च्याउ खेतीप्रति कृषकहरूको चासो बढ्न थालेको छ। युट्युबमार्फत प्राप्त जानकारीका आधारमा सिताके खेतीको प्रयास गरेका कृषक सोमलाल पाख्रिन र वीरबहादुर रुम्बाले प्रारम्भिक असफलतापछि नयाँ सम्भावनाको बाटो भेटेका छन्।

प्राकृतिक स्रोत र अनुकूल भूगोल हुँदाहुँदै पनि प्रविधिको सानो ज्ञान अभावका कारण उनीहरूको पहिलो प्रयास असफल भएको थियो। टनेलभित्र तापक्रम नियन्त्रणका लागि आवश्यक ‘एसी’ प्रणाली प्रयोग नगर्दा लगानी खेर गएको कृषकहरूले स्वीकार गरेका छन्।

तर अहिले गाउँपालिकाले कृषकहरूलाई प्रविधि र व्यावहारिक ज्ञान प्रदान गर्न पहल गरेको छ। कृषि शाखाले बुढीचौरका कृषकहरूका लागि विशेष तालिम सञ्चालन गरी सिताके च्याउ खेतीको सैद्धान्तिक तथा व्यवहारिक पक्ष सिकाएको छ।

कृषि शाखा प्रमुख गोपाल लम्सालका अनुसार, ‘कन्या च्याउमा मात्र सीमित किसानहरूलाई अब सिताकेबाट उच्च आम्दानी लिन प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।’ तालिममा मुडामा प्वाल पार्ने, बिउ राख्ने, मैन लगाउने लगायतका सिप सिकाइएको छ।

सिताके च्याउ उत्पादनका लागि ११०० मिटरभन्दा माथिको उचाइ, ७०–८० प्रतिशत आर्द्रता र १५–२५ डिग्री तापक्रम उपयुक्त मानिन्छ। उत्पादन प्रक्रिया अनुसार ८ महिनापछि च्याउ उत्पादन सुरु हुने र प्रयोग गरिएको काठअनुसार वर्षौँसम्म उत्पादन लिन सकिने प्राविधिकहरू बताउँछन्।

बजारमा पनि यसको माग उच्च छ। ताजा सिताके च्याउ प्रतिकेजी ६०० देखि १००० रुपैयाँसम्म बिक्री हुने र सुकाएर बेच्दा ३००० देखि ५००० रुपैयाँसम्म पुग्ने बताइन्छ।

गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले परीक्षण उत्पादन सफल भएमा कृषकलाई लागत साझेदारीमा सहयोग गरिने बताएका छन्। यस पहलले विगतको असफलतालाई सफलतामा बदल्दै बुढीचौरका कृषकहरूको आर्थिक अवस्था सुधार गर्ने अपेक्षा गरिएको छ।-याे खबर हामीले अनलाइन खबरबाट साभार गरेका हाैँ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.