नागरिक एपमा पञ्जीकरण सेवा एकीकरण: जन्मदेखि विवाहसम्मका प्रमाणपत्र अब डिजिटलमै

सरकारले सार्वजनिक सेवा प्रणालीलाई थप सरल र प्रविधिमैत्री बनाउने अभियानलाई नयाँ गति दिएको छ। यसै क्रममा राष्ट्रिय पञ्जीकरणका महत्वपूर्ण विवरणहरू नागरिक एपमा एकीकृत गर्ने प्रक्रिया अघि बढाइएको छ।

सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार जन्म दर्ता, विवाह दर्ता र सम्बन्धविच्छेद दर्ताजस्ता सेवाहरूलाई एउटै डिजिटल प्रणालीमा समेट्ने तयारी भइरहेको छ। प्रारम्भिक काम सुरु भइसकेको र चाँडै कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ।

यस एकीकरणपछि सेवाग्राहीले पञ्जीकरणसम्बन्धी प्रमाणपत्रहरू सीधै नागरिक एपबाटै प्राप्त गर्न सक्नेछन्। यसले सरकारी कार्यालय धाउने झन्झट हटाउने अपेक्षा गरिएको छ।

सरकारले डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै नागरिक सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई तीव्र बनाएको छ। निजामती कर्मचारीका व्यक्तिगत विवरण, लोक सेवा आयोगका प्रवेशपत्र र वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ समेत एपबाटै उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ।

त्यस्तै, नेपाल इन्जिनियरिङ परिषद्सँग सहकार्य गरी इन्जिनियरहरूको व्यावसायिक प्रमाणपत्र पनि एपमै उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले तोकिएको समयसीमाभन्दा अघि नै यी सेवाहरू सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। विभागले विभिन्न निकायसँग समन्वय गर्दै प्रणाली विकासलाई तीव्रता दिएको जनाएको छ।

मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ मा समेत यो योजना समेटिएको छ। हाल नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र डाउनलोड गर्ने सुविधा भने सञ्चालनमा आइसकेको छ।

नयाँ सेवाहरू थपिएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको लक्ष्य अझ मजबुत हुने देखिन्छ। यसले सेवाग्राहीलाई समय, खर्च र झन्झटबाट राहत दिने मात्र होइन, सरकारी सेवा प्रणालीलाई पारदर्शी, प्रभावकारी र आधुनिक बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.