सहकारी क्षेत्रमा उदाहरण बन्दै महिला मिलन सहकारी, रजत जयन्ती भव्य रूपमा सम्पन्न

हेटौंडा। महिला मिलान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती सप्ताहव्यापी कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।

रजत जयन्तीको अवसरमा सहकारीले एक हप्तासम्म विविध कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रमअन्तर्गत शुक्रबार आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने सदस्य, कर्मचारी तथा सहयोगी व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा स्थापना कालदेखि संस्थामा आबद्ध रही योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई विशेष सम्मान गरिएको थियो। उत्कृष्ट कर्मचारीको रूपमा जुनी वाइबालाई सम्मान गरिएको छ। त्यस्तै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलाई नगदसहित पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। यसका साथै अन्य विभिन्न विधामार्फत पनि व्यक्तित्वहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

संस्थाकी अध्यक्ष मिना थापाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशका सहकारी मन्त्री बिनु रायमाझी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। प्रमुख अतिथि रायमाझीले सहकारी क्षेत्रले देशको आर्थिक विकास, रोजगारी सिर्जना तथा आत्मनिर्भरता निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो। उहाँले विशेषगरी महिला सशक्तीकरणमा यस्ता सहकारी संस्थाहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१३ का वडाध्यक्ष पेम्पा लामा विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै सहकारी सङ्घका अध्यक्ष नारायण देवकोटा, मकवानपुर जिल्ला सहकारी सङ्घका सदस्य शंकर प्रसाद कालाखेती, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख समिर श्रेष्ठ तथा नेफस्कुनका शाखा प्रमुख ज्योति महतलगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरू, सहकारी संस्थाका प्रतिनिधिहरू तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले सहकारी संस्थाले स्थानीय स्तरमा आर्थिक क्रियाकलाप विस्तार, सदस्यहरूको जीवनस्तर उकास्न तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको धारणा राखेका थिए। उनीहरूले सहकारीको पारदर्शिता, सुशासन र सदस्य केन्द्रित सेवामार्फत अझ प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, सदस्य भेटघाट तथा विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गरिएको सहकारीले जनाएको छ।

सहकारीमा आबद्ध महिलाहरूले पञ्जेबाजा तालिम लिएर स्वरोजगार बन्न सफल भएकोमा खुसी व्यक्त गरेका छन्।

महिला मिलान सहकारी ५६ जना महिलाहरूले प्रतिव्यक्ति १०० रुपैयाँ बचतबाट सुरु गरेको थियो। हाल सहकारीमा ६ हजार ४०८ जना शेयर सदस्य आबद्ध रहेका छन्।

सहकारीले विगत २५ वर्षदेखि महिला सशक्तीकरण, बचत प्रवर्द्धन तथा सहुलियतपूर्ण ऋण सेवा प्रदान गर्दै समुदायमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। आगामी दिनमा पनि सदस्यहरूको आर्थिक तथा सामाजिक विकासका लागि अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता सहकारीले व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.