हेटौँडा — मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको छ।
मंगलबार सहिद स्मृति रंगशालामा भएको क्वाटरफाइनल खेलमा चित्लाङ एफसीले मछिन्द्र एफसीलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। खेलको निर्णायक गोल एरोन थापाले ८६औं मिनेटमा गरेका थिए। उत्कृष्ट प्रदर्शन गरेका थापा ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार पाए।
हारसँगै मछिन्द्र एफसी प्रतियोगिताबाट बाहिरिएको छ। मछिन्द्र यसअघि छैटौं संस्करणको विजेता तथा गत संस्करणको उपविजेता टोली हो।
अब चित्लाङले सेमिफाइनलमा बिहीबार सिमराको नव जनजागृति युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनल खेल भने बुधबार फ्रेन्ड्स क्लब, ललितपुर र बागमती युथ क्लब, सर्लाहीबीच हुनेछ।
प्रतियोगिताको फाइनल खेल आगामी शनिबार तय गरिएको छ। विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। साथै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।















