हेटौँडा । सिन्धुलीको कमलामाई नगरपालिका–२ तेहसयस्थित बीपी राजमार्गमा भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
आइतबार दिउँसो करिब २ बजे गढीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र ०१–०१६ प ५४२९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा स्कुटर चालक हेटौँडा–६ का २५ वर्षीय आदर्श चौलागाई र पछाडि सवार ३९ वर्षीय बिकेस घिमिरे घाइते भएका थिए।
घाइतेमध्ये चालक चौलागाई सामान्य अवस्थामा रहेका थिए भने पछाडि सवार घिमिरे गम्भीर घाइते भएका थिए। गम्भीर घाइते घिमिरेलाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल लगिएको थियो। उपचारकै क्रममा मंगलबार साँझ ६:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
यसैबीच, चालक चौलागाईलाई जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा उपचारपछि सोमबार डिस्चार्ज गरिएको छ र हाल उनी ह्याम्स अस्पतालमै फलोअपमा रहेको जनाइएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।















