हेटौँडा–काठमाडौँलाई जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्गका रूपमा हेरिएको १४.४ किलोमिटर लामो फाखेल–मातातीर्थ–सतुंगल सडक निर्माण कार्य लामो समयदेखि सुस्त गतिमा अघि बढिरहेको छ। प्रदेश सरकारको ‘गौरवको आयोजना’का रूपमा अघि सारिएको यो सडक निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन।
२०५५ सालमै ट्रयाक खोल्न सुरु गरिएको यो सडक भौगोलिक कठिनाइ र बजेट अभावका कारण झन्डै १२ वर्षमा मात्र ट्रयाक खुलेको थियो। पछि २०७६ सालमा बागमती प्रदेश सरकारले स्तरोन्नति सहित निर्माण सुरु गरे पनि काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।
सडकको काठमाडौँतर्फको मकैबारी–मातातीर्थ खण्डमा काम निकै ढिलो भइरहेको छ। ठेक्का पाएको कम्पनीले पटक–पटक म्याद थप्दा पनि हालसम्म करिब ६७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। ढिलाइका कारण प्रदेश सरकारले निर्माण कम्पनीलाई १० प्रतिशत जरिवाना समेत लगाएको छ।
यता मकवानपुर खण्ड भने अन्तिम चरणमा पुगेको छ। यहाँ सडकको ठूलो भाग निर्माण भइसकेको र बाँकी काम आगामी महिनाभित्र सक्ने लक्ष्य लिइएको छ।















