काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा सम्पन्न भएको २९ दिनमै नतिजा सार्वजनिक गरिएको हो । यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन अघिल्लो वर्षको ६१.८१ प्रतिशतभन्दा बढी हो ।
सार्वजनिक विवरणअनुसार दुई लाख ८४ हजार १ सय ६० विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् भने एक लाख ४६ हजार ५ सय ७ विद्यार्थी ननग्रेडेड (एनजी) भएका छन् ।
उच्च जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको छ । ४८ हजार ३ सय ९२ परीक्षार्थीले ३.६० देखि ४.०० जिपिए हासिल गरेका छन् । त्यस्तै, ८० हजार ३ सय ७२ जनाले ३.२० देखि ३.६० तथा ९४ हजार २ सय २२ जनाले २.८० देखि ३.२० जिपिए ल्याएका छन् ।
यसैगरी, ५५ हजार ९ सय ७७ विद्यार्थीले २.४० देखि २.८० जिपिए प्राप्त गर्दा पाँच हजार १ सय ९० जनाले २.०० देखि २.४० जिपिए ल्याएका छन् । सात जना विद्यार्थीले १.६० देखि २.०० जिपिए प्राप्त गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार दुई विषयसम्म एनजी आउने विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षामा सहभागी गराइनेछ । बोर्डले यस्तो परीक्षा तत्काल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
शिक्षा मन्त्रालयले एक महिनाभित्र नतिजा सार्वजनिक गर्न दिएको निर्देशनअनुसार यस वर्ष उत्तरपुस्तिका परीक्षण कार्य परीक्षा केन्द्रमै गरिएको थियो । वैशाख ५ गतेभित्र देशभरका उत्तरपुस्तिका सङ्कलन गरी कम्प्युटर प्रणालीमा विवरण प्रविष्ट गर्ने काम सम्पन्न भएपछि नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ ।















