मकवानपुरको एसईई नतिजा : चार विद्यालय शून्य, ५०.९९ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड

हेटौँडा — मकवानपुर जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा अपेक्षाअनुसार आउन सकेन। जिल्लाभरबाट परीक्षामा सहभागी भएका ५ हजार ५ सय २७ विद्यार्थीमध्ये २ हजार ८ सय १८ जना अर्थात् ५०.९९ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका छन् भने २ हजार ७ सय ९ जना विद्यार्थी नन–ग्रेडेड भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार जिल्लाका चार विद्यालयको नतिजा पूर्ण रूपमा शून्य आएको छ। शून्य नतिजा आउने विद्यालयमध्ये राक्सिराङ गाउँपालिकाका तीन र भीमफेदी गाउँपालिकाको एक विद्यालय रहेका छन्।

शून्य नतिजा आउने विद्यालयहरूमा राक्सिराङ–४ स्थित कालिका माध्यमिक विद्यालय, राक्सिराङ–६ को राष्ट्रिय माध्यमिक विद्यालय, राक्सिराङ–८ को माध्यमिक विद्यालय तथा भीमफेदी–८ स्थित पञ्चकन्या माध्यमिक विद्यालय रहेका छन्। ती विद्यालयबाट एसईई परीक्षामा सहभागी सबै विद्यार्थी असफल भएपछि नतिजा शून्य बनेको हो।

कालिका माविबाट ६ जना, राष्ट्रिय माविबाट १ जना, राक्सिराङ–८ को विद्यालयबाट २८ जना तथा पञ्चकन्या माविबाट ६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

गत वर्ष मकवानपुरका सात विद्यालयको नतिजा शून्य आएको थियो। यस वर्ष उक्त संख्या घटेर चारमा सीमित भए पनि ग्रामीण क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तर सुधार अझै चुनौतीपूर्ण रहेको देखिएको छ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षा यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिट्टै नतिजा सार्वजनिक गरिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.