हप्तामा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा लागू भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूका लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ।
मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शैक्षिक संस्थालाई स्वीकृत पाठ्यक्रमअनुसार आवश्यक कार्यघण्टा मिलाएर पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको हो। मन्त्रिपरिषद्को गएको चैत २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र २०८३ देखि विद्यालयमा पनि हप्तामा दुई दिन बिदा दिने व्यवस्था लागू गरिएको छ।
केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयहरूलाई पठाएको परिपत्रअनुसार अब विद्यालयमा दैनिक १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय छुट्याउनुपर्नेछ। साथै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसम्बन्धी क्रियाकलाप सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाअनुसार हिउँदे र बर्खे बिदाको अवधि साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ। यस्तै अन्तिम परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्नुपर्ने उल्लेख गरिएको छ।
शिक्षण सिकाइलाई व्यवहारिक र प्रभावकारी बनाउन शुक्रबार समुदाय तथा परिवारसँग सम्बन्धित क्रियाकलाप, सूचना प्रविधिको प्रयोग, परियोजना कार्य तथा प्रयोगात्मक अभ्यासमा आधारित गतिविधि सञ्चालन गरिने व्यवस्था गरिएको छ। आवश्यकताअनुसार विद्यार्थीलाई प्रस्तुति दिने अवसरसमेत प्रदान गरिने केन्द्रले जनाएको छ।
परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा उपलब्ध ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ उपयोग गर्न सकिने पनि केन्द्रले उल्लेख गरेको छ।















