मकवानपुर/मकवानपुरको थाहा नगरपालिकाका विद्यालयहरु आइतबार पनि सञ्चालन गर्ने भएको छ । पालिकाले एक सूचना जारी गर्दै आइतबार सामुदायिक र संस्थागत विद्यालय सञ्चालन गर्ने जनाएको छ ।
पालिकाका शिक्षा शाखा अधिकृत माधवविक्रम मल्लका अनुसार संस्थागत विद्यालयहरु यसअघि नै सञ्चालन भइरहेका थिए । पाठ्यक्रम र कार्यघण्टा समायोजन नहुँदा शैक्षिक क्षति हुने भएकोले अर्को व्यावस्था नहुन्जेलसम्मका लागि कक्षा सञ्चालन गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ । अधिकृत मल्लका अनुसार आइतबार विद्यालय बन्दा हुँदा पाठ्यक्रमले तोकेको विषयवस्तु पूरा गर्न नसकिने भएका कारण कक्षा सञ्चालन गर्नुपर्ने भएको हो ।
वर्षे विदा कटौती गर्ने अवस्था पालिकामा नभएको उहाँको भनाइ छ । भौगोलिक विकटताका कारण वर्षाको समयमा विद्यार्थीहरु विद्यालयमा उपस्थित हुने अवस्था नभएको उहाँले बताउनुभयो । संघीय सरकारको निर्णय भए पनि आइतबार विद्यालय बन्द गर्दा कोर्स पूरा गर्ने अवस्था नभएपछि विद्यालय सञ्चालन गरिएको उहाँको भनाइ छ ।
थाहा नगरपालिकाभित्र ५३ वटा सामुदायिक विद्यालय रहेका छन् । नगरपालिकामा ११ वटा संस्थागत विद्यालय रहेका छन् । जिल्लाको मकवानपुरगढी, कैलाश, इन्द्रसरोवर र मनहरी गाउँपालिकाका विद्यालयहरु आइतबार बन्द रहेका छन् । हेटौँडा उपमहानगरपालिकाका विद्यालयहरु सञ्चालनमा रहेका छन् भने मनहरीका केहि संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् ।















