हेटौंडा : एकै दिन मकवानपुरमा दुइ बालिकाहरुलाई हाडनाता भित्रैका संरक्षकहरुले नै जबरजस्ती करणी गरिएका घटनाहरु बाहिरिएका छन् । प्रहरीका अनुसार मकवानपुरको बकैया गाँउपालिकामा आफ्नै हजुरबुवाले १० वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको घटना बाहिरिएको छ । गत चैत्र ५ गते एकाघरमै सगोलमा बस्ने हजुरबुवाले बकैया–६ स्थित आफ्नै घरमा राती ८ बजे १० वर्षीया नातिनीलाई सुतिरहेको बेलामा विभिन्न प्रलोभन देखाइ फकाएर बलात्कार गरेको भन्दै पीडित बालिकाका बाबुले प्रहरीमा जाहेरी दिएका छन् । बालिकाले यसअघि पनि पटक–पटक बलात्कार गरेको र अरुलाई सुनाए कुटपिट गर्ने धम्की दिएकोले बालिकाले डरले कसैलाई भन्न नसकेको बताएकी छिन् ।
चैत्र ५ गतेको घटनापछि भने पीडित बालिकाले आफ्नी आमालाई जानकारी दिएपछि घटनाबारे परिवारले थाहा पाएको थियो । आमा हाल बिदेशमा रहेका कारण पीडित बालिकाका बुबाले सोमबार जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन् । अभियुक्त हजुरबुवा पक्राउ गर्न नसकिएकोले हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले जनाउनुभयो । अभियुक्तको खोजी कार्यलाई तिव्रता दिइएको समेत प्रहरीले जनाएको छ ।
यस्तै सोमबार नै जिल्ला प्रहरी कार्यालयमा अर्को पनि संरक्षकले नै जबरजस्ती करणी गरेको घटना आएको छ । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिका–२ की १६ बर्षीया एक बालिकालाई आफुसँगै बस्ने ठुलोबुवाले जबरजस्ती करणी गरेको घटना मकवानपुर प्रहरीसम्म आएको छ । घटना अनुसार सिन्धुली जिल्ला घर भई हाल भक्तपुरमा ठुलोबुवाको संरक्षणमा बस्दै आएकी बालिकालाई गत पुष १५ गते मादक पदार्थ सेवन गरी आफ्नै संरक्षक ठुलोबुवाले जबरजस्ती करणी गरेका हुन् । बालिकाको महिनावारी रोकिएपछि भक्तपुरबाट सिन्धुली फर्किएर मकवानपुरको बागमती गाँउपालिका स्थित स्वास्थ्य केन्द्र मार्फत हेटौंडा अस्पतालमा गर्भपतनका लागि आउँदा अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रले बालिकाको उद्दार गरी प्रहरीको जिम्मा लगाइएको छ । घटना भक्तपुर जिल्लामा भएको र स्थायी ठेगाना सिन्धुली भएका कारण घटना जाहेरी भक्तपुर प्रहरीमा रिफर गरिएको मकवानपुर प्रहरीले जनाएको छ । हाल अभियुक्तलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।















