भीमफेदीको बाघझोरामा अण्डरपास बन्ने, १० करोड बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौं लाई जोड्ने त्रिभुवन राजपथ अन्तर्गत भीमफेदी गाउँपालिका–१ स्थित बाघझोरा खोलामा अण्डरपास निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

प्रतिनिधिसभा सदस्य महेश बर्तौला को पहलमा अघि बढाइएको उक्त परियोजनाको कार्यान्वयन तयारीस्वरूप शुक्रबार भौतिक मन्त्रालय अन्तर्गतका जिम्मेवार अधिकारी तथा प्राविधिक टोलीले निर्माण स्थलको स्थलगत अध्ययन तथा निरीक्षण गरेका हुन् ।

उक्त योजनाका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ । साथै, अब छिट्टै टेण्डर प्रक्रिया समेत अगाडि बढाइने तयारी रहेको बताइएको छ ।

अण्डरपास निर्माण सम्पन्न भएपछि सामान्य वर्षात्को समयमा समेत घण्टौँसम्म हुने सवारी जामको समस्या समाधान हुने विश्वास गरिएको छ । यससँगै यात्रुले भोग्दै आएको सडक सुरक्षासम्बन्धी चुनौती न्यूनीकरण भई हेटौँडा–काठमाडौं यात्रा थप सहज, भरपर्दो र सुरक्षित बन्ने अपेक्षा गरिएको छ ।

वर्षायाममा मकवानपुरसहित यस सडकखण्ड प्रयोग गर्ने हजारौँ यात्रुले लामो समयदेखि सडक अवरोधको समस्या भोग्दै आएका छन् । अण्डरपास निर्माणपछि यातायात व्यवस्थापन, जनजीवन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

निर्माण कार्य बिना अवरोध छिट्टै सुरु भई समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै सांसद बर्तौलाले योजनालाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.