काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिकमा छुटेकालाई असार २० सम्म निवेदन दिने अवसर

 नेपाली काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र विविध कारणले छुट भएका सदस्यहरूलाई पुनः अवसर प्रदान गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नवीकरण तथा अद्यावधिक गर्न छुटेका क्रियाशील सदस्यहरूले आगामी असार २० गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको हो।

पार्टीका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेल को अध्यक्षतामा बसेको बैठकले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति धन्यवादसमेत व्यक्त गरेको छ।

समितिका अनुसार डिजिटल प्रणालीमा रहेका कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये जेठ २८ गते राति १२ बजेसम्म ६ लाख ८७ हजार ९३१ सदस्यको विवरण अनलाइन प्रणालीमा प्रविष्ट भइसकेको छ।

वडा तहबाट प्राप्त फारामहरू आगामी असार ५ गतेभित्र अनुमोदन गरिसक्न निर्देशन दिइएको छ। तोकिएको अवधिमा अनुमोदन नभए विधानअनुसार योग्य सदस्यहरूको सदस्यता केन्द्रबाट स्वतः अनुमोदन गरिने व्यवस्था मिलाइने जनाइएको छ।

इन्टरनेट पहुँच न्यून रहेका उच्च हिमाली तथा विकट पहाडी क्षेत्रका केही जिल्ला, साथै बारा र खोटाङमा अद्यावधिकको समय असार ७ गतेसम्म थप गरिएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि भने यो अवधि असार १० गतेसम्म कायम गरिएको छ।

त्यसैगरी नयाँ क्रियाशील सदस्यता वितरण तथा फाराम व्यवस्थापनको काम असार २० गतेसम्म जारी रहनेछ। पार्टीले नवीकरण वा नयाँ सदस्यता लिँदा शुल्क नबुझाएका सदस्यलाई यथाशीघ्र शुल्क बुझाउन आग्रह गरेको छ। तोकिएको शुल्क नबुझाउने सदस्यले १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने निर्णय पनि समितिले गरेको छ।

विविध कारणले सदस्यता अद्यावधिक गर्न नसकेका वडाहरूले बाँकी सदस्यको संख्या उल्लेख गरी सात दिनसम्मको अतिरिक्त समय माग्दै केन्द्रीय कार्यालयको इमेलमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

समितिले १५औँ महाधिवेशनको कार्यतालिका प्रभावित नहुने गरी सदस्यता अद्यावधिक र नयाँ वितरणको समय व्यवस्थापन गर्न केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ। साथै काँग्रेस विधानअनुसार ३५ वर्षमुनिका युवालाई लक्षित गरी क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.