मकवानपुरगढी, जेठ २९ – मकवानपुरगढी गाउँपालिका–३ ले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व, उत्कृष्ट विद्यार्थी, कृषक, खेलाडी तथा सामाजिक सुरक्षा भत्ता प्राप्त लक्षित वर्गलाई सम्मान गर्दै ‘लक्षित वर्ग सम्मान कार्यक्रम–२०८३’ सम्पन्न गरेको छ। विगत २०७६ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको कार्यक्रममा यस वर्ष २९ जनालाई सम्मान गरिएको हो।
वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान प्रमुख अतिथि तथा वडा अध्यक्ष भागवत घिमिरे अध्यक्ष रहेका थिए। कार्यक्रममा शिक्षा, कृषि, खेलकुद, सहकारी, सामाजिक सेवा, वातावरण संरक्षण र सामुदायिक विकासलगायत क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
मकवानपुरगढी–३ बाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका डा. दीपक अधिकारीलाई विशेष सम्मान प्रदान गरिएको थियो। यस्तै सहकारी अभियन्ता गोविन्द दाहाल, प्रधानाध्यापक राजेन्द्र थापा, शिवराम फुयाल, विष्णुमाया नगरकोटी, वासु अधिकारी, मनमोहन देवकोटा र विमल दाहाल पनि सम्मानित भएका छन्।
शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको छ। उत्कृष्ट जीपीए ल्याएकी रितिका थापाले ७ हजार रुपैयाँ प्राप्त गर्दा सायम पाख्रिन, क्रिशा पुडासैनी, किरण लम्साल, विधान पाख्रिन र उज्वल विश्वकर्माले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए।
खेलकुदतर्फ मकवानपुर जिल्ला महिला क्रिकेट टोलीमा छनोट भएका भानु माध्यमिक विद्यालयका नौ जना छात्रा तथा प्रशिक्षक रविन्द्र विक्रम सापकोटा सम्मानित भए। कृषि क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका पोल्ट्री व्यवसायी गणेश सिलवालसहित दुग्ध उत्पादन र व्यावसायिक खेतीमा सक्रिय कृषकहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, असहाय तथा एकल महिलासहित नौ जनालाई सम्मानस्वरूप ब्ल्याङ्केट वितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष स्याङ्तानले समाज निर्माणमा योगदान पुर्याउने व्यक्तिहरूको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएको बताए। उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले वडा–३ को सम्मान कार्यक्रम अनुकरणीय रहेको उल्लेख गरिन्।
वडा अध्यक्ष घिमिरेले हरेक वर्ष एक लाख रुपैयाँ बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिँदै आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिइने बताए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव सोनिका अर्यालले गरेकी थिइन्।
























