२४ खर्बभन्दा बढीको अर्थतन्त्रसहित बागमती सबैभन्दा बलियो प्रदेश

मकवानपुर । बागमती प्रदेशले देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान कायम राख्दै नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ३६.७ प्रतिशत हिस्सा ओगट्ने प्रक्षेपण गरिएको छ। प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा बागमती प्रदेशको कुल अर्थतन्त्र २४ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी पुग्ने अनुमान छ।

आइतबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले नेपालको कुल अर्थतन्त्र ६६ खर्ब ९ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ। सो आधारमा बागमती प्रदेश एक्लैले राष्ट्रिय अर्थतन्त्रको एक तिहाइभन्दा बढी हिस्सा ओगट्ने देखिएको हो।

सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धि दर ५.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन राष्ट्रिय आर्थिक वृद्धि दरको अनुमानित ३.८५ प्रतिशतभन्दा उल्लेख्य रूपमा बढी हो।

आयको दृष्टिले पनि बागमती प्रदेश राष्ट्रिय औसतभन्दा अगाडि देखिएको छ। प्रदेशका नागरिकको प्रतिव्यक्ति आय २ हजार ६४४ अमेरिकी डलर पुग्ने अनुमान गरिँदा राष्ट्रिय औसत भने १ हजार ५१३ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।

प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको वर्चस्व कायम रहेको सर्वेक्षणले देखाएको छ। कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ७६.६ प्रतिशत रहने अनुमान गरिएको छ भने उद्योग क्षेत्रको हिस्सा १२.२ प्रतिशत र कृषि क्षेत्रको योगदान ११.२ प्रतिशत रहने उल्लेख छ।

मुद्रास्फीति नियन्त्रणको अवस्थामा देखिए पनि उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धिले नागरिकलाई असर पारिरहेको प्रदेश सरकारको निष्कर्ष छ। फागुन मसान्तसम्म प्रदेशको मुद्रास्फीति ३.६२ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ।

यता, विकास खर्चको अवस्था भने सन्तोषजनक देखिएको छैन। फागुन मसान्तसम्म प्रदेश सरकारले १५ अर्ब ५ करोड रुपैयाँ खर्च गरेको छ, जुन वार्षिक विनियोजनको २२.३० प्रतिशत मात्रै हो। चालुतर्फ ३०.५६ प्रतिशत खर्च हुँदा पुँजीगत खर्च १७.१२ प्रतिशतमा सीमित रहेको छ।

राजस्व तथा वित्तीय व्यवस्थापनतर्फ प्रदेश सरकारले फागुनसम्म ३८ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी स्रोत परिचालन गरेको छ, जुन वार्षिक अनुमानको ५७.४८ प्रतिशत बराबर हो।

वित्तीय पहुँच विस्तारमा पनि प्रदेश अग्रणी देखिएको छ। प्रदेशका सबै ११९ स्थानीय तहमा बैंक शाखा पुगेका छन् भने एउटा बैंक शाखाले औसत २ हजार २९ जनालाई सेवा दिइरहेको सर्वेक्षणमा उल्लेख छ। वित्तीय साक्षरता दर पनि राष्ट्रिय औसत ५७.९ प्रतिशतको तुलनामा बागमतीमा ६४.५ प्रतिशत पुगेको छ।

कृषि क्षेत्रमा प्रदेशको ४४.५२ प्रतिशत जनसंख्या आबद्ध रहेको छ। प्रतिकूल मनसुनका कारण धान र गहुँ उत्पादनमा केही कमी आए पनि अन्य खाद्यान्न तथा नगदे बालीको उत्पादन बढेको सर्वेक्षणले देखाएको छ। सिँचाइयोग्य जमिनमध्ये ५०.२६ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ।

पूर्वाधार विकासतर्फ फागुनसम्म १३.५४ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको, ८२.१५ किलोमिटर ग्राभेल सडक तथा १२६.०८ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति गरिएको छ। प्रदेशका ९९.९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ भने ९३.४० प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सुविधा उपलब्ध रहेको उल्लेख छ।

शिक्षातर्फ प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत पुगेको छ। आधारभूत तहमा खुद भर्ना दर शतप्रतिशत पुगे पनि माध्यमिक तहमा भने यो दर ५१.८ प्रतिशत मात्र रहेको छ। विद्यालयमा पहुँच बढे पनि विद्यार्थी टिकाइराख्ने चुनौती कायम रहेको सर्वेक्षणले औंल्याएको छ।

स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा ९८ रहेको जनाउँदै प्रदेश सरकारले मातृ तथा शिशु स्वास्थ्य सुधारका कार्यक्रमलाई प्राथमिकता दिइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.